भैँसेपाटीस्थित एनसेल मुख्यालयमा बम विस्फोट हुँदा घाइते भएका गुरुङको मृत्यु

100

नयाँ पत्रिका,
फागुन ११, काठमाडौं-ललितपुरको भैँसेपाटीस्थित एनसेलको कार्यालयमा शुक्रबार बेलुका भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका डिएसपी अपिल बोहोराले जानकारी दिए । उनी पूर्व ब्रिटिस आर्मी हुन् । शुक्रबार बेलुका ८ बजेर ५ मिनेटको समयमा भएको विस्फोटमा परी प्रतीक्षा खड्का र उरुषा मानन्धर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको पनि मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटका कारणा एनसेलको कार्यालयभित्र समेत क्षति पुगेको छ । घरका सिसाहरू फुटेका छन् । प्रारम्भिक अनुसन्धानमा प्रेसर कुकर बम विस्फोट गराइएको हुन सक्ने महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी अपिल बोहराले बताए । घटनास्थलमा कुनै पर्चा भेटिएको छैन भने कसैले जिम्मेवारी पनि लिएको छैन । प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान थालेको छ ।

गत ८ माघमा राजन तिमल्सिनाको नेतृत्वमा तीनजना चन्दा माग्न एनसेल मुख्यालय गएका थिए । चन्दा नदिएपछि उनीहरूले नै विस्फोट गराएको आशंका गरिएको छ । विस्फोट गराउने समूहबाट अनुसन्धान सुरु भएको र छिटै पक्राउ गरिने महानगरीय प्रहरी आयुक्त डिआइजी शैलेश थापाले बताए ।

कमलपोखरीमा पनि बमआतंक
शुक्रबार साँझ नै कमलपोखरीमा शंकास्पद वस्तु भेटिएको छ । ल्होत्सेचोकस्थित आँगन रेस्टुरेन्टमा बमजस्तो शंकास्पद वस्तु भेटिएको हो । सेनाले सो वस्तु डिस्पोज गरेको छ । ‘मेरो झोला हेरिदिनु ल’ भनेर एकजना युवा केही मिठाई अर्डर गर्न गएको केही समयसम्म फर्केर नआएपछि कर्मचारीले झोला खोलेर हेर्दा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुवै घटनामा एउटै समूह संलग्न रहेको आशंका गरिएको छ ।