ठेकेदारको लापरवाहीः हिलाम्य सडकले जनतालाई सास्ती

129
फाइल तस्विर

फागुन २३,
बाजुरा । बाजुरा सदरमुकाम मार्तडी बजारभित्रको हिलाम्य सडकका कारण हिँडडुल गर्न समस्या हुने गरेको छ । निर्माण अवस्थामा रहेको सडकको काम समयमै पूरा नहुँदा हिलो थपिँदै गएको छ । लगातारजसो पानी पर्दा डोजरले निकालेको माटो भिजेर हिलाम्य बनेको हो । हिलाम्य सडकका कारण बजारवासीलाई व्यापार÷व्यवसाय गर्न मात्र असहज बनेको छैन, सर्वसाधारणलाई हिँडडुल गर्नसमेत सास्ती भएको छ । “हिलाम्य सडककै कारण सदरमुकाम मार्तडी बजारको अवस्था नै लाजमर्दो देखिन थालेको छ”, सडक निर्माण भइरहेको बजार क्षेत्रभित्रको समस्या सुनाउनुभयो स्थानीय निर्मला विष्टले । फराकिलो सडक निर्माण गर्ने भनिए पनि काम समयमै सम्पन्न नहुँदा निर्मलाजस्तै हजारौँले दैनिकजसो समस्या भोग्नुपरेको छ । त्यही गुनासो छ, मालिका माविमा अध्ययनरत छात्रा रीता विकको ।

विद्यार्थीदेखि विक्रेतासम्म, बजारवासीदेखि कार्यालयका हाकिम सबैले हिलाम्य सडकमाथि नै वारपार गर्नुपरेको तीन महीना बढी भइसकेको छ । तर अवस्था सुधार हुनुको साटो थपिँदो छ । पुस मसान्तभित्र काम सक्ने गरी सक्झौता गरेको भनिए पनि फागुनसम्म काम नहुँदा सास्ती भोग्नुपरेको गौमुल गाउँपालिका–६ सटेडाका चन्दहादुर रोकायाको गुनासो छ ।
“मार्तडी, बाजुरा जिल्लाको सदरमुकाम अर्थात् जिल्लाको प्रमुख केन्द्र । राज्यका उपल्ला निकायदेखि सबै प्रकारका सरकारी संरचना रहने स्थान हो, सदरमुकाम । पढेलेखका प्रबुद्ध व्यक्ति, गण्यमान्य बस्ने ठाउँ पनि हो सदरमुकाम । तर सदरमुकामकै सडकको अवस्था हेर्दा दयनीय मात्र छैन्, लाजमर्दो छ” छिमेकी जिल्लाबाट व्यसायका लागि बाजुरा पुगेका देवेन्द्र ठकुल्लाले भन्नुभयो ।

मार्तडीको गौँडाडिलबाट प्रशासन कार्यालयसम्म र वन कार्यालयबाट जिल्ला स्वास्थ्य कार्यालयको गेटसम्म सडक विस्तारको काम हुँदैछ । बडिमालिका नगरपालिकाले काम गर्ने जिम्मा पीएस कन्स्ट्रक्सनलाई दिएको छ । तर कम्पनीले काममा गति दिएको छैन । कन्स्ट्रक्सनले हरेक बहानामा कामको मिति सारिरहेको आरोप सर्वसाधारणको छ । दुनी हाटबजारदेखि बसपार्कसम्मको सडक निर्माणले समेत गति नलिँदा थप सास्ती भोग्नुपरेको दुनी हाटबजार व्यवस्थापन समिति सचिव मदन रोकायाले बताउनुभयो । सडक निर्माणको जिम्मा लिएको कन्स्ट्रक्सनले काम ढिलाइ गरेको नभई मौसमले पनि साथ नदिएको बताएको छ । कन्स्ट्रक्सनले सडकको पर्खाल निर्माण गर्न मात्रै सहयोग गरेको र पर्खाल निर्माणकार्य केही ठाउँबाहेक सबै सकिएकाले यसमा अन्य कुनै जिम्मेवारी नभएको जनाएको छ । सडकको पर्खालबाहेक अन्य सबै निर्माणकार्य नगरपालिकाकै जिम्मा रहेको पीएस कन्ट्रक्सनका बाजुरा प्रतिनिधि प्रेम थापाले जानकारी दिनुभयो ।

तर सदरमुकाम मार्तडीमा भने सडक नबनेसम्म यी र यस्तै गुनासा सबैजसोबाट सधैँ सुनिरहनुपर्ने देखिन्छ । जिम्मा लिएको काम समयमै नगर्ने कम्पनी र कामका लागि वातावरण सिर्जना नगर्ने जग्गाधनी वा निकायलाई कानूनी प्रक्रियामा बाँधे मात्र निर्माणले गति लिने देखिन्छ । हाल निर्माण भइरहेको सदरमुकाम मार्तडीभित्रको माथिल्लो बीचबजारमा रहेको ३५४ मिटर र तुफानडाँडादेखि डिआरमस्ट होटलसम्म ५०० मिटर सडक अस्तव्यस्त बन्दै गएको छ । (रासस)