प्रि–मनसुन शुरु : तीन महीना पहाडी भेगको मौसम प्रभावित हुने

123

फागुन २२
काठमाडौँ -यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महीना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भूभागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्ष हुने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभाव पार्न थालेकाले प्रि–मनसुन शुरु भएको हो । तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ ।
प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भूभागका केही स्थानमा फाट्फुट्ट वर्षा हुने मौसमविद् अर्यालले औँल्याउनुभयो । उहाँका अनुसार अङ्ग्रेजी महीना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम प्रभावित भइरहन्छ । वर्षा छोटो समय हुने गर्छ र उपत्यकामै पनि एक ठाउँमा वर्षा हुने र अर्को ठाउँमा नहुने हुन्छ ।
पहाडी भेगमा प्रि– मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । सो समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । नयाँ प्रणाली विकास नभइसकेकाले पहाडी भेगबाहेकका अन्य क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।-रासस