सरकारले सबै उपलब्धि गुम्ने बाटो अपनायो : उपसभापति गच्छदार

169

फागुन २२,
कञ्चनपुर — कांग्रेस उपसभापति विजय गच्छदारले सरकार राजनीतिक उपलब्धि गुम्ने बाटोमा अग्रसर भएको बताएका छन् । उनले सरकार संविधानका मूल्य र मान्यताविपरीत चलिरहेको र यसले राजनीतिक उपलब्धिलाई नै खतरा पार्ने उनको बुझाईछ । बुधबार प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उनले अहिलेकै हिसाबले सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको नारा सार्थक नहुने बताए । ‘अहिलेको सरकारले सबै उपलब्धि गुम्ने बाटो अपनाएको छ,’ उनले भने, ‘संविधानको मूल्य मान्यताविपरीत जानु पनि ठीक होइन, यसले असहज परिस्थिति सिर्जना हुँदैछ ।’

लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य भएपनि सरकारका काम कारबाहीले सर्वसाधारणमा निराशा छाएको गच्छदारको भनाइ थियो । ‘बाहिरबाट हेर्दा राजनीतिक स्थिरता आयो, दुई तिहाइको निर्वाचित सरकार आयो भन्ने छ,’ उनले भने, ‘तर त्यस अनुसारको जनताले अनुभूति पाएका छैनन्, विकास निर्माणका योजनाहरु अलपत्र छन्, नयाँ योजना सुरु हुन सकेका छैनन् ।’ अहिलेको सरकारले संविधान, न्यायालयलाई कमजोर पार्ने र संसद्‌को सर्वोच्चता माथि प्रहार गर्ने काम गरेको उनको धारणा छ । उनले एकलौटी ढंगले विभिन्न किसिमका ऐन कानुनहरु पारित गर्दा प्रेसमाथि अंकुश लगाउने काम भइरहेको पनि बताए ।
कांग्रेसभित्र देखिएको विवाद सहमतिबाटै समाधान खोज्नुपर्ने गच्छदारको धारणा रहेको छ ।