खर्कमै पुरिए चौंरी

252

कान्तिपुर दैनिक/घनश्याम खड्का
फागुन २ज्ञ, म्याग्दी — उपल्लो मुस्ताङको तिब्बत सीमावर्ती लोमन्थाङ र डालोमे गाउँपालिकाका चरन खर्कमा बाक्लो हिउँमा पुरिएर चौंरीगाई र भेडाच्यांग्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले क्षतिबारेको पूर्ण विवरण आउन बाँकी रहेको जनाएको छ । ‘लोमन्थाङ चौकीले पशु चौपाया हिउँमा पुरिएर मरेको पुष्टि गरेको छ । पूर्ण विवरण आउन केही दिन लाग्छ,’ मुस्ताङ प्रहरी प्रमुख डीएसपी महेन्द्र खडकाले भने, ‘मौसममा सुधार भएकाले केही दिनमा उपल्लो भेग पुग्ने सडक खुल्छ होला । गोठालाले पनि मरेका चौपायाको विवरण दिनेछन् ।’

चरन क्षेत्रमा खुला छाडिएका याकहरू बाक्लो हिमपातपछि बस्ती फर्कन सकेका थिएनन् । बाक्लो हिमपातले चरन क्षेत्र पुरिएपछि खान नपाएर चौपाया मरेको अनुमान छ । हिमपात रोकिएपछि चौपाया खोज्न जाँदा मरेको भेटिएका हुन् । ‘धेरै चौंरी मरेको अनुमान छ । बस्ती नजिकको चरन क्षेत्रमै पनि २५र३० वटा मरेका चौंरी देखिएका छन् । कसका कतिवटा मरे भन्ने यकिन हुन केही दिन लाग्छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० का कर्मचारीसमेत रहेका लोमन्थाङवासी राम विष्टले फोनमा भने, ‘हिउँ बाक्लो छ । पग्लन केही दिन लाग्ने भएकाले लेकका चरनमा तत्काल पुग्न सकिन्न । जाडामा बेंसी झरेका कतिपय चौंरीधनी हिउँले बाटो रोकिएर फर्कन पाएका छैनन् ।’