नयाँ पत्रिका
फागुन १९, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रूख कटान गर्ने अनुमति पाएसँगै राष्ट्रिय गौरवको आयोजना मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणले गति लिएको छ । एक महिनामा जंगलभित्र पनि पाइपलाइन तयार गरी आगामी वैशाखभित्र पाइपमार्फत नेपालमा तेल ल्याइने आयोजनाले जनाएको छ । ‘पथलैयादेखि अमलेखगन्जसम्म पर्ने करिब नौ किलोमिटर क्षेत्रमा रूख कटान सुरु भएको छ,’ पेट्रोलियम पाइपलाइन आयोजना कार्यालय प्रमुख प्रदीप यादवले भने, ‘अब एक महिनाभित्र जंगलतिर पनि पाइप बिछ्याइसकिनेछ, वैशाख महिनाभित्र नेपालमा पाइपमार्फत तेल ल्याउँछौँ ।’ मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माण भारतीय कम्पनी निखिथा इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । एक वर्षदेखि निर्माणमा जुटेको कम्पनीले नेपालतर्फको अधिकांश काम सकेपछि निकुञ्ज क्षेत्रमा पर्ने रूख कटानको आदेश नपाउँदा अल्झिएको थियो । वन मन्त्रालयले रूख काट्ने अनुमति दिएसँगै काम तीव्र रूपमा अघि बढेको आयोजनाले जनाएको छ ।
कति भयो काम ?
भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म ६९ किलोमिटर लामो पाइपलाइन बनाउन लागिएको हो । भारतको मोतिहारीदेखि रक्सौलसम्म ३२.८० किलोमिटर पाइपलाइन बन्नेछ । यो क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सकिएको परियोजनाले जनाएको छ । त्यस्तै, नेपालतर्फ रक्सौलदेखि अमलेखगन्जसम्म ३६ दशमलव २० किलोमिटर पाइपलाइन बिछ्याइनेछ । जसमध्ये २७ दशमलव २० किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याइएको छ । बाँकी करिब नौ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज परेकाले समस्या भएको थियो । रूख काट्न अनुमति पाएपछि काम थालिएको छ । कुल ७० प्रतिशत काम सकिएको यादवले बताए ।











