पाकिस्तानी सेनाको भारतलाई चेतावनी: ‘हामीसँग उल्झिन नआउ’

123

बीबीसी,
फागुन ११, काठमाडौँ -शुक्रवार एक पत्रकार सम्मेलन गरेर पाकिस्तानी सेनाले पुलवामा भएको हमलामा पाकिस्तानलाई जबरजस्ती मुछिएको भन्दै कडा प्रतिक्रिया दिएको छ। सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले उक्त हमलाले भारतको आन्तरिक सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह उठेको बताए। फेब्रुअरी १४ मा भारतीय अर्धसैनिक बल सीआरपीएफका जवानहरू चढेको गाडीको लस्करमाथि जैश-ए-मोहम्मद नामक समूहले गराएको आत्मघाती हमलामा परि ४० भन्दा धेरैको ज्यान गएको थियो। भारतले सो घटनाका निम्ति पाकिस्तानलाई जिम्मेदार ठहर्‍याएको छ। तर पाकिस्तानले ती आरोप अस्वीकार गरेको छ। मेजर जनरल गफूरले भने, “पाकिस्तानले यो हमला भएपछि राम्ररी सोच्यो छानबिन गर्‍यो र जिम्मेवार सरकारको रूपमा प्रतिक्रिया दियो। हाम्रा प्रधानमन्त्रीले भारतलाई पहिले कहिल्यै नदिइएको प्रस्ताव दिएका छन्। उनले भनेका छन् यदि प्रमाण भेटियो भने कसैको दबाबमा होइन कि हाम्रो आफ्नै स्वार्थले त्यस्ता समूहविरुद्ध कारबाही गर्नेछौँ भनेर।” “हामीले जाँचबुझ गर्‍यौँ त्यसैले जवाफ दिन केही ढिलाइ भयो। तर हामीले गरेको जाँचबुझबाट पाकिस्तानमाथि लगाइएका आरोप आधारहीन पाइएका छन्।”