सोमपाल, ऐरी, करण र ललित ‘टु एक्स क्रिकेट’ प्रतियोगिता खेल्न अमेरिका जाने, सोमपालले कप्तानी सम्हाल्ने

113

फागुन ८,
काठमाडौँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू सोमपाल कामी,दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशी ‘टु एक्स क्रिकेट’ प्रतियोगिता खेल्न अमेरिका जाने भएका छन्।

उनीहरू प्रतियोगितामा सोमपालले कप्तानी सम्हाल्ने नेपाली राइनोज टोलीबाट खेल्नेछन्। अहिलेसम्म सोमपालको अमेरिका जाने टुंगो भइसकेको छ भने धनगढी प्रिमियर लिगमा व्यस्त भएकाले बाँकी तीन जनाको भिसाको अन्तर्वार्ता हुन सकेको छैन। नेपाली राइनोज अमेरिकाको टेक्सासमा बस्ने पूर्वक्रिकेटर र समर्थकले स्थापना गरेको टोली हो। आगामी मार्च २० देखि २४सम्म हुने प्रतियोगिताको विजेता टोलीले ५० लाख रूपैयाँ पुरस्कार पाउने छ।

प्रतियोगिताको अघिल्लो संस्करणमा कप्तान पारस खड्का,ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सुवास खकुरेल, पृथु बाँस्कोटा, सोमपाल कामी र बसन्त रेग्मी सम्मलित राइनोज टोलीले उपाधि नै जितेको थियो।

यसपटक भने क्लबले युवा खेलाडीलाई मात्र अमेरिका आउने निम्तो दिएको छ। बजेटको अभावले गर्दा धेरै खेलाडी लिन नसकेको क्लबले जनाएको छ।

क्लब व्यवस्थापक आशिक लामाले भने, ‘हामीले यसपटक युवा खेलाडीलाई अवसर दिएका छौं। विस्तारै ठूला प्रतियोगितामा पनि खेल्ने कुरा छ । त्यो भयो भने सिनियर खेलाडी पनि आउँछन्।’ प्रतियोगितामा विभिन्न देशबाट १६ टोलीको सहभागिता रहनेछ।