अब नयाँ स्टारको खोजीमा लाग्ने: फेडेरर

22

काठमाडौँ । गत साता अन्तर्राष्ट्रिय टेनिसबाट सन्‍न्यास लिएका टेनिस लेजेन्ड रोजर फेडेररले आफूले धेरै सोचेर सन्‍न्यास लिएको भन्दै अब देशका लागि नयाँ स्टारको खोजीमा लाग्ने बताएका छन्।

२० पटक ग्रान्डस्लाम च्याम्पियन फेडेररले गत साता २३ सेप्टेम्बरबाट सुरु हुने लेवरकप अन्तिम एटिपी टुर हुने बताएका थिए। उनले लेवर कपमा डबल्सतर्फ प्रतिस्पर्धा गर्ने छन्।

४१ वर्षीय स्विस स्टार फेडेररले भने, ‘पछिल्ला तीन वर्ष मेरो लागि निकै कठिन रह्यो। तीन वर्षमा मैले जहिलेदेखि कोर्टमा आउने प्रयास गँरे तहिले देखि नै कोर्टले मसँग दूरी बढायो, इमानदारितापूर्वकभन्दा मैले फिर्ता आउने प्रयास गरेँ। तर मेरा पनि आफ्ना सीमा छन्।’

उनले सन्‍न्यासपछि के गर्ने भनेर खास योजना नबनाएको बताए। यद्यपि उनले स्विटजरल्यान्डका युवा प्रतिभालाई कोर्टमा ल्याउन प्रयास गर्ने संकेत गरे। फेडेररले भने, ‘म स्विटजरल्यान्डबाट नयाँ टेनिस स्टार खोज्न चाहन्छु।’

उनले सन्‍न्यासका लागि पाँच पेज लामो पत्र सार्वजनिक गरेका थिए। उनले भने, ‘मलाई ती शब्द लेख्न कयौँ हप्ता बिताउनु पर्‍याे।’ उनले सन्‍न्यासकाे विचारबाट आफू धेरै पटक भागेको पनि बताए। ‘यदि यो विचारलाई मैले मनमा आउन दिएको भए पहिले नै सन्‍न्यास लिइसकेको हुने थिएँ।’