‘प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना हुन सक्छ’

155

देवेन्द्र पौडेल
नेता, नेपाल कम्युनिष्ट पार्टी,

पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकरण भएको दस महिना पुगेको छ । तर तीन महिनाभित्र सम्पन्न गरिसक्ने सांगठानिक एकता प्रक्रियाको काम अझै पूरा हुन सकेको छैन् । आधा दर्जन भन्दा बढी कार्यदल गठन भएपनि एकताले मूर्त रुप लिन सकिरहेको छैन् । अहिले पनि नौ सदस्यीय कार्यदलले एकता प्रक्रियाको कामलाई अगाडि बढाउन गृहकार्य गरिरहेको छ । केन्द्रीय समिति गठन भएपनि नेताहरुको कार्यविभाजन नहुँदा नेताहरु भूमिका विहीन भएका छन । दस महिनासम्म एकता प्रक्रिया टुंगो लाग्न नसक्नुको मुख्य कारण शीर्ष नेतृत्वमा रहेको विवाद नै प्रमुख कारण मानिदै आएको छ । नेकपा नेतृत्वको दुई तिहाई बहुमत प्राप्त सरकारले पनि जनअपेक्षाकृत रुपमा काम गर्न नसकेको भन्दै आलोचित बन्दै आएको छ । सरकार गठन भएको एक बर्ष पुग्दा समेत जनताको न्यूनतम आवश्यकतालाई समेत सम्बोधन गर्न नसकेको गुनासो जनस्तरमा व्याप्त छ ।पार्टी एकताको बाँकी काम लम्बिनुको कारण, सरकारको काम,मन्त्री परिवर्तनको चर्चा लगायतको विषयमा प्रतिनिधिसभाका सांसद एवं नेपाल कम्युष्टि पार्टीका नेता देवेन्द्र पौडेलसँग नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः–

पार्टी एकीकरण भएको दस महिना वितिसक्दा समेत सांगठानिक एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन किन होला ?
–पार्टी एकीकरण भएपछि धेरैजसो काम त सकिएका छन् । केन्द्रीय समिति, स्थायी समिति, सचिवालय, प्रदेश कमिटी गठन भइसकेको छ । अब जिल्ला कमिटी गठन र कार्याविभाजन र जनवर्गीय संगठनको एकताको काम बाँकी छ । बाँकी कामहरु चाँडो हुनु पर्दथ्यो । ढिला भएको छ । अब हामीसँग अगाडि बढनु बाहेक पछाडि फर्कने कुनै पनि ठाउँ छैन् । ढिलै भएपनि बाँकी कामलाई पूर्णता दिनको लागि छलफल भइरहेका छन् । कार्यदलले पनि आफ्नो काम गरिरहेको छ ।

कार्यदलको कुरा त गर्नुभयो । पार्टी एकता हुँदा तीन महिनाभित्र सबै एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरिएको थियो । यस बीचमा बारम्बार कार्यदल गठन भएर प्रतिवेदन आउदा पनि एकताले किन गति लिन सकेन त ?

–पार्टी एकतामा मापदण्डले मात्र काम गर्दैन । मापदण्डले आशिक काम गर्छ । पूर्ण काम गर्दैन । कि त निर्वाचन मार्फत छनोट हुनु प¥यो । मापदण्ड अनुसार लामो समयदेखि पार्टीको लागि दुःखकष्ट झेलेको साथीहरु पनि धेरै छन् । हामीले विधान र नियमावलीमा गरेको व्यवस्था अनुरुप संख्या थोरै र साथीहरुको संख्या बढी भएको कारणले गर्दा पनि समस्या भएको छ ।

कार्यदले गृहकार्य गरिरहेको छ । कतिपय सन्दर्भमा छलफल नसकिएको होला । कार्यदलले छलफल मार्फत एकता प्रक्रियालाई अगाडि बढाउने विषयमा काम गरिरहेको छ । दुई पार्टीको फरक–फरक प्रकृतिको एकता, दुई पार्टीको आन्तरिक प्रवृत्तिहरु पनि मिलान गर्नु पर्ने भएकाले केही समय लागेको हो । अब धेरै समय लाग्छ जस्तो मलाई लाग्दैन ।

दस महिना वितिसक्दा समेत केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको छैन । लामो समय एकता प्रक्रिया टुंगो लाग्न नसक्नु र केन्द्रीय सदस्यहरु भूमिका विहीन हुनुले के संकेत गर्छ ?

–ढिलो नगरी एकता प्रक्रिया तीन महिनाभित्र सम्पन्न गर्न पाएको भए धेरै राम्रो हुन्थ्यो । स्वभाविक रुपमा केही असन्तुष्टि आउथे त्यसको व्यवस्थापन गरेर अगाडि बढन नसकिने भन्ने कुरा हुँदैन्थ्यो । तर पनि एकताबाट पछाडि फर्किएर होइन । केन्द्रीय समिति, स्थायी समिति र सचिवालयका सदस्यहरुको कार्यविभाजन हुनुपर्छ ।

राजनीतिको खासखास कालखण्डमा मेरो पनि अनभूति के हो, धेरै काम नपाएर कामको भूमिमा आफूलाई सरिक हुन नपाएर पार्टीको नेता कार्यकर्ता बेरोजगार भएको क्षण पनि हामीले भोगेका छौं । आशा गरौ छिटो भन्दा कार्यदलले दिएको प्रतिवेदनलाई आधार बनाएर दुई जना अध्यक्षले निर्णय गरेर अगाडि बढनुहुन्छ भन्ने मेरो विश्वास छ ।

पार्टी अध्यक्षले एकता भएपछि बाँकी काम समयमा नै सम्पन्न गर्नको लागि पर्याप्त ध्यान दिएको हो ?
–पार्टी नेतृत्वमा विभिन्न तहमा नेताहरु हुनुहुन्छ । अलिकता बढी सक्रियता र दतारुपता, विवादित विषयलाई टुंगो लगाउनको लागि सक्रिय भूमिका दुई जना अध्यक्षको छ । एक जना अध्यक्ष प्रधानमन्त्री पनि भएको हुनाले एकताको कामको बारेमा समय नपुग्ने कुरा, राज्यका विभिन्न कामले समय अपुगता हुने कुरा पनि छन् । त्यसले अलिकता ढिलाई भएको हो । दोस्रो कुरा यही पृष्ठभूमि यही विचारबाट विकल्प दिने अर्को शक्ति नभएको कारणले पनि ठिकै छ नि त गर्दै जाउला भन्ने कुराले पनि ढिलाई भएको होला ।

तेस्रो सबै प्रकारका प्रवृत्तिको मिलान गर्नुपर्ने बाँध्यता रहेको छ । त्यसकरणले यी सबै कुराहरुले गर्दा केही समय ढिलाई भएको महशुस गरेका छौं । तर पनि हामीले सुझाव के दिएका छौ भने सकेसम्म पार्टीका औचापरिक कमिटीबाट निर्णय गरौं । यदी कमिटीबाट निर्णय गर्न कठिन भएको अवस्थामा सबै सल्लाह, सुझाव र प्रतिवेदनको आधारमा दुई अध्यक्षले निर्णय गरेर एकता प्रक्रिया टुंगो लगाउनु पर्छ ।