वस्तुगत क्षेत्रको विशिष्ठतालाई कायम गर्दै यसको गरिमा बढाउन मेरो उम्मेदवारी

304

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको मिति नजिकिदै गर्दा उद्योगी व्यवसायीहरुबीच चुनावी सहगर्मी ह्वात्तै बढेको छ । यस पटक पनि वरिष्ठ उपाध्यक्षको नेतृत्वमा प्यानलै बनाएर व्यवसायीहरु प्रतिस्पर्धामा उत्रेका छन् यसै सन्दर्भमा महासंघको विभिन्न क्षेत्रमा विगत १२ वर्ष देखि रहेर आफ्नो विशिष्ट पहिचान बनाउन सफल व्यवसायी तथा सिल्क् एशोसियसनका अध्यक्ष शंकर प्रसाद पाण्डे जसले किशोर कुमार प्रधानको प्यानलबाट वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ उहाँसँग नयाँ नेपाल न्यूजका लागि रामेश्वर ढकालले गर्नुभएको कुराकानीको सम्पादीत अंश :
नेपाल उद्योग वाणिज्य महासंङ्कघको आसन्न निर्वाचनमा तपाँईले वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भयो वस्तुगत क्षेत्र आफैमा विविधिकरण भएको क्षेत्र हो सबैलाई समेटेर कसरी लैजानुहुन्छ ?
हो, वस्तुगत क्षेत्रले आफैमा विशिष्ठ स्थान राख्छ । यो आफैमा महासंघ हो । सबै क्षेत्रलाई समेटिएको र नेपालमा जति पनि विजनेसहरु छन् ती सबै वस्तुगत संघमा सदस्य छन् । त्यस कारणले यो आफैंमा विशिषप्ठ क्षमता राख्ने संस्था हो । यो संस्थाले जे जति महत्त्व पाउनु पर्दथ्यो त्यति महत्त्व पाएको भने छैन । त्यस कारण यसको विशिष्ठतालाई कायम गर्दै यस क्षेत्रको गरिमा बढाएर मैले उम्मेदवारी दिएको हुँ । मैले विगत १२ वर्ष देखि महासंघका विभिन्न तहमा रहेर काम गरको छु । वस्तुगत परिषदकै उपाध्यक्ष, व्यापार समितिको सभापति, निर्यात समितिमा रहेर पनि काम गरेको छु । यस कार्यकालमा बैंकिङ् तथा फाइनान्स समितिको सभापनि भएर काम अगाडि बढाएको छु ।
महासंघ सदस्यको रुपमा मात्र बसेर काम गर्न अव पर्याप्त छैन । आफ्नो सोच अनुसार महासंघलाई अगाडि बढाउँदै यसको गरिमा बढाउन आवद्ध संघ संस्थालाई आफैमा बलियो बनाउन र तिनको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उज्जागर गर्दै अगाडि बढाउन आफूँ पदाधिकारी तहमा नपुगि सम्भव रहेनछ भन्ने अनुभव गरें । सबै साथीहरुको अनुरोधलाई समेत आत्मसाथ गर्दै वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।
नीतिगत विषयमा व्यवसायीको तर्फबाट लविङ् गर्नु पर्ने विषय के देख्नु भएको छ ?
व्यवसायलाई हामीले ५ क्षेत्रमा विभाजन गरेका छौं । जति बेला म वस्तुगत संघको सह – सभापति थिए त्यति बेला मेरो अगुवाइमा क्षेत्र विभाजन गरिएको हो । कृषि, निर्यात, पर्यटन, सेवा र उद्योग भनेर ५ सेक्टरमा विभाजन गरिएको छ । यी सेक्टरका समस्या समाधान गर्ने गरी नीतिगत विषय उठाउँछौं । हामी सँग निर्यात नीति छैन । त्यस्तै निर्यात प्रवर्द्धन गर्ने इनिसियटिभका विषय छन् । निर्यात प्रवर्द्धनका लागि प्याकेज प्रोग्राम, त्यस्तै पर्यटनका लागि पनि प्याकेज प्रोग्राम चाहिन्छ । त्यस्तै एग्रिकल्चरमा वफर जोन, वफर स्टकलाई छुट्याएर व्यवसायीकरण गर्नु पर्दछ भनेका छौं । त्यस्तै पर्यटन लगायतका सेवा क्षेत्रको नीतिगत हिसाबले सम्बोधन गर्नु पर्दछ । धेरै समस्या पर्ने गरेका कच्चा पदार्थ, तयारी वस्तु, कर, बैंक व्याजदरका कुराहरु छन् । मैले यतिबेला जल्दोबल्दो रुपमा उठाएको विषय के हो भने बैंकले वातावरण मिलेको बेलामा व्याजदर बढायो यो नाजायज छ । हामीले राष्ट्र बैंक, सरकारसंग के भनिरहेका छौं भने बैंकमा व्याज दर घट बढ हुन सक्छ तर हिजो ७-८ प्रतिशत व्याज दरमा दिएको रकमलाई १४-१५ प्रतिशत पुर्याउनु भएन यस्ता विषयमा नीतिगत स्पष्टता चाहिन्छ । बैंकहरुलाई स्वतन्त्र रुपमा छोडिएको छ । त्यसमा नियन्त्रण गर्न जरुरी छ भनेर विभिन्न मञ्चमा आवाज उठाएका छौं । यसलाई हामीले आगामी दिनमा नीतिगत विषयमा समेट्न जरुरी छ ।
यस विषयमा राष्ट्र बैंक सँग कुरा भएको छ ?
कुरा भएको छ ।
चुनावी एजेन्डाका हिसावले कुन कुन विषयमा जोड दिनु भएको छ ?
वस्तुगत संघलाई महत्वपूर्ण स्थानमा राख्ने, यसको महत्वलाई उजागर गर्ने, समन्वय गर्ने र सरकार समक्ष लविङ् गर्ने मुख्य काम यी नै हुन् । यी काम भित्र रहेर यस भित्र नीतिगत कुरा आउछन् , समस्यालई मात्र देखाउने नभै समस्या समाधानको उपाय पैलाएर लविङ् गर्छौं ।
वस्तुगत तर्फबाट निर्वाचित कार्यकारिणी सदस्य र संघहरु त्यति चलायमान भएनन् भन्ने गुनासो छ । कसरी चलायमान बनाउनु हुन्छ ?
वस्तुगत संघको विशिष्ठता हुँदा हुँदै पनि महत्व नपाएको जुन कुरा गर्नुभयो त्यो वास्ताविकता हो । त्यसैले हामी संग भएका विभिन्न कमिटिमा कुन सेक्टरलारई केमा राख्ने भन्ने अनुभव हामीलाई छ । कसलाई कुन जिम्मेवारी दिँदा कमिटिलाई चलायमान बनाउन सकिन्छ भन्ने अनुभव मलाई छ । महासंघमा ३ पटक चुनाव जितेर र एक पटक समितिमा रहेर काम गर्दा यहाँको समस्या समाधानका उपाय र सदस्यहरुको मनोविज्ञान बुझेको छु । हामी संग भएका ९९ वटा वस्तुगत संघहरुलाई समेटेर जुन सेक्टर छुट्याएको छ त्यही सेक्टरबाट विभिन्न गतिविधि बाँडेर काम गराउन सकिन्छ ।
वस्तुगत तर्फबाट तपाँइको टीम कहिले घोषणा हुन्छ ?
हामी तयारी कै चरणमा छौं लगभग तयारी अवस्था मै छौं धेरै ढिलो नगरी अब छिट्टै घोषणा गर्छौं ।
वस्तुगत तर्फ तीन जनाको उम्मेदवारी घोषणा भएको छ ९९ संघ मध्ये तपाईलाई कति संघको समर्थन प्राप्त छ ?
हामी सुविधाजनक अवस्थामा छौं । ९९ संघ मध्ये, हाम्रो घोषणा सभामा पस्मिना संघका अध्यक्षले ६७ संघको समर्थन रहने जसमा ६० वटा संघको समर्थन जुनसुकै अवस्थामा पनि रहने चित्रण गर्नु भएको थियो हामी त्यही अवस्थामा छौं ।
यस पटक अध्यक्षको निर्वाचन गर्नु नपर्ने हुँदा गुटवन्दीको अन्त्य भयो भनेर विधान संशोधन गर्दा भनिएको थियो तर वरिष्ठ उपाध्यक्षको निर्वाचन त अध्यक्षको पुरानै शैलीबाट हुने भयो, यसले व्यवसायिक एकतामा असर पार्छ कि पार्दैन ?
जुन स्पिडका साथ विधान संशोधन भएको थियो त्यो स्पिड चुनावी माहोलले पक्डेको देखिँदैन । वास्तवमा मेरो त के मान्यता थियो भने अध्यक्षको निर्वाचन प्रत्यक्ष रुपमा गर्न पाउनु पर्दछ भन्ने थियो तर विधान संशोधन भइसकेको छ । त्यसलाई हामीले पनि स्विकार गर्नै पर्दछ । स्वीकार गरेका छौं । समुहगत निर्वाचनको अन्त्यका लागि यसले भूमिका खेलेन । पुरानै शैलीबाट चुनाव भयो भन्ने विषय साँचो हो । अव यसलाई एउटा लोकतान्त्रिक विधि सम्झेर सहजरुपमा लिनु पर्दछ ।
प्रतिस्पर्धि भन्दा तपाँइलाई चुन्नु पर्ने कारण के देख्नुहुन्छ ?
अहिले सम्म महासंघमा रहँदा काम गर्दाको अनुभव, सिकेका कुरालाई कार्यन्वयमा ल्याउने, सबै साथीहरुलाई सहज हुने गरी काम गर्न चाहन्छु । त्यसकारण म सबै साथीहरुको पहुँचमा छु । म संग साथीहरुले काम गर्न सहजै मान्नुहुन्छ, म संग त्यो किसिमको विषय क्षमता ज्ञान पनि छ । सरकारी संयन्त्रमा समन्वय गर्ने क्षमता र पहँच राख्दछु । सिकेका कुरालाई कार्यन्वयन गर्ने म संग जोस र जाँगर पनि छ । यी सबै विषयलाई हेरेर साथीहरुले मूल्याङ्कन गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।
वस्तुगत संघका साथीहरुलाई के भन्न चाहनुहुन्छ ?
साथीहरुले कुनै प्रभावमा पर्नुहुँदैन । आफ्नो स्वनिर्णय गर्नु पर्दछ, को काम गर्न सक्छ, कसले काम गर्न सक्दैन त्यो साथीहरुले मुल्याङ्कन गर्ने विषय हो । आवश्यक समयमा उपलब्ध हुन सक्ने र काम गराउन सक्षम र सहज व्यक्ति रोज्न आग्रह गर्दछु ।