सफाई ३ सय हप्ताः अझैं पनि वाग्मतीमै ढल

118

माघ २०,
काठमाडौँ । वाग्मती सफाइ महाअभियान शुरु भएको आगामी शनिबार ३०० हप्ता पूरा हुन लाग्दा नदी किनारवासीले स्वच्छतामा त्यति धेरै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ । सफाइ अभियानले जागरण फैलाए पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले हालेको ढल फुटेर आवागमनमै बाधा पुगेको ललितपुर महानगरपालिका–२ स्थित कालोपुल वरपरका नागरिकको गुनासो छ । वडाध्यक्ष राजेश महर्जन सुन्दरीघाटमा निर्माण हुने प्रशोधन केन्द्रमा लगिएको ढल फुटेर पुलमुनिको क्षेत्रमा दुर्गन्ध फैलने, पानी परेका बेला नदी किनारको सडकमा पानी जमेर आवागमनमा समस्या आउने गरेको बताउनुहुन्छ ।

“गत हप्ता परेको माघे झरीले पुलमुनि दह जम्यो, सवारी आवतजावतमा समस्या भयो, वडाका तर्फबाट मैले पटकपटक अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुखलाई भनेँ, काम हुन सकेको छैन, महानगरपालिकाका प्रमुखले पनि यो समस्या समितिका अधिकारीसँग राखिसक्नु भएको छ, तर पनि अवस्थामा सुधार आउन सकेको छैन”, उहाँले भन्नुभयो । वाग्मती कोरिडोर वर्षौंदेखि कालोपत्र हुन नसक्दा पनि यस क्षेत्रका बासिन्दा हिउँदमा धूलो र वर्षामा हिलो खप्नु परेको छ । नदी किनारका दायाँबायाँ अहिले पनि फोहर र प्लाष्टिक थुप्रिएको देखिन्छ । पहिलेजस्तो नदी किनारमा दुर्गन्धले जान नसकिने अवस्था सफाइ अभियानका कारण नभए पनि अपेक्षा गरे जति सफा हुन नसकेको सृष्टि महिला समूहकी अध्यक्ष पार्वता डङ्गोलले बताउनुभयो ।

नदी किनारमा लगाइएको पर्खाल वर्षामा आउने बाढीको बहाव क्षेत्रभन्दा तल भएका कारण पनि थापाथली पुलमुनिको कुपण्डोलबाट बल्खु पुलसम्मै डुबानमा पर्ने गरेको छ । नदी किनारमा सडक बनाइएको छ तर चक्रपथ आयोजनाले बोलपत्र आह्वान गरेका चार वर्षसम्म पनि कालोपत्र हुन नसकेको वडाध्यक्ष महर्जनले बताउनुभयो । -newsofnepal