नेपाल आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा समावेश

85

माघ १५ काठमाडौं,
पहिलो पटक एक दिवसीय सिरिज जितेसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा राखेको छ।

युएईसँग ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सकिने बितिकै आईसीसीले आफ्नो अधिकारिक वेबसाइटमा नेपाललाई पहिलो पटक वरियतामा राखेको हो।

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियता अनुसार नेपाल १५ औं स्थानमा छ। वरियतामा नेपालले १० खेल खेल्दा १५२ अंक र १५ रेटिङ पाएको छ।

नेपालभन्दा अघि १४ औं स्थानमा युएई र १३ औं स्थानमा स्कटल्याण्ड छन्।

शीर्ष १२ टोली आइसीसीको स्थायी बरियतामा छन्।

जसमा पहिलो नम्बरमा इंल्याण्ड हुँदा भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बाबे र आयरल्याण्ड आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा क्रमश १ देखि ११ औं स्थानमा छन्।

गत वर्षको मार्चमा विश्व कप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका देशहरू बिरुद्ध खेलेको खेलपनि जोड्दै आईसीसीले नेपाललाई वरियतामा राखेको हो।

नेपालले त्यस बेला प्रतियोगितामा जिम्बाबे, पपुवा न्यु गिनी, हंगकंग र स्कटल्याण्डसंग खेलेको खेल पनि आईसीसीले जोडेको छ।

२०१८ आईसीसी बिश्व कप छनोटमा खेलेको ४ खेल, गत वर्ष अगस्टमा नेदरल्याण्डसँग खेलेको २ खेल, एसिया कप छनोटमा गत वर्ष युएईसँग खेलेको १ खेल र जारि सिरिजमा युएईसँग खेलेको ३ खेल गरि नेपालले १० वटा खेल खेलेको हो।

मार्चमा आईसीसीको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएपछि नेपालले खेलेका ६ खेलमध्ये ३ वटामा मात्र जित दर्ता गरेको छ।

नेदरल्याण्डसँग खेलेका २ मध्ये १ खेल जितेको थियो भने युएईसँग खेलेका ४ मध्ये २ खेल जितेको छ।

नेपालले सन् १९८८ मा आईसीसीको अफिलीएट र १९९६ मा एसोसीएट राष्ट्रको मान्यता पाएको थियो।

सन् २०१४ को टी-२० विश्वकप सहभागिता र २०१८ मा एकदिवसीय राष्ट्रको मान्यता पाउनु नेपाली क्रिकेट टिमको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ।

युएईसंग नेपालले खेलेको ३ वटा एकदिवसीय सिरिजमा २ वटामा जित र एउटामा हार बेहोरेको नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित हो।