Friday, September 18, 2026
Home राजनीति राष्ट्रियसभाको बैठक सञ्चालनका लागि प्रयास जारी

राष्ट्रियसभाको बैठक सञ्चालनका लागि प्रयास जारी

97

काठमाडौँ, १३ माघ
राष्ट्रियसभाको सोमबारका लागि निर्धारित बैठक बिना अवरोध सञ्चालन गर्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयास जारी रहेको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आज बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास भएको सङ्घीय सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिनुभयो ।
यही माघ ११ गते प्रतिनिधिसभा बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक पारित भएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच केही दूरी बढेको देखिएको छ । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताल विघटन गर्न खोजेको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

राष्ट्रियसभाको सोमबार बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ टेबुल गरिने सम्भावित कार्यसूची छ । कार्यव्यवस्था परामर्श समिति बैठकमा सहमतिको प्रयास भए पनि सत्तापक्ष र प्रतिपक्षको अडान भने यथावत छ ।

आफ्ना माग सरकारबाट सुनुवाइ नभएको भन्दै अडान यथावत रहेको काङ्ग्रेसका सांसद बद्री पाण्डेले जानकारी दिनुभयो । सरकारले समस्या सुल्झाउने हो भने अझै ठाउँ रहेको उल्लेख गर्दै उहाँले हतारिएर प्रतिवेदन पेश नगर्न सत्तापक्षलाई आग्रह गरिएको बताउनुभयो ।-रासस