Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै, राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै, राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

57

काराकास– भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहेका बेला यो खबर बाहिर आएको हो ।

देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्यदूतावास बन्द गर्ने घोषणा गरेका छन् । । साथै, मदुरोले भेनेजुएलामा रहेका अमेरिकी कुटनीतिज्ञहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको सत्तालाई ‘अवैधानिक’ भनी घोषणा गरिसकेका छन् । विपक्षी नेता गुएइदोको घोषणालाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, अर्जेन्टिना, कोलम्बिया समेतका केही दक्षिण अमिरिकी मुलुकहरुले समर्थन गरेका छन् ।

तर भेनेजुएलामा लगानी र सहयोग गरिरहेका चीन र रुसले राष्ट्रपति मदुरोलाई समर्थन गरेसँगै परिस्थितिले नाटकीय मोड लिन थालेको छ ।

तेलको धनी राष्ट्र भेनेजुएला आर्थिक रुपमा अत्यन्त कमजोर स्थितिमा छ ।

मदुरो गतवर्ष भएको राष्ट्रपतिको चुनावमा पुनः विजयी भएका थिए, तर यो चुनावमा धाँधली भएको जनाउँदै विपक्षीहरु तथा धेरै अन्य मुलुकले लगातार विरोध गरिरहेका छन् । तर, आफूलाई समाजवादी नेता भन्न रुचाउने मदुरोको शासनसत्ता शक्तिशाली सेनाको भूमिकामा अडेको विश्वास गरिन्छ ।

सेनाको जनरल समेत रहेका रक्षामन्त्री भ्लादिमिर पाड्रिनोले ५६ वर्षीय मदुरो नै मुलुकको ‘वैधानिक राष्ट्रपति’ रहेको घोषणा गरेका छन् । उनले सम्भावित ‘सत्ता विद्रोह’ विरुद्ध जस्तोसुकै कदम चाल्न भेनेजुएलाको सेना दृढ र एकताबद्ध रहेको बताएका छन् ।

पाड्रिनोको घोषणालगत्तै अरु आठ जना जनरलले पनि राष्ट्रपतिको पक्षमा समर्थन जनाएका छन् ।

मदुरोका समर्थकहरु न्यायाधीश रहेको सर्वोच्च अदालतले पनि मदुरोको ‘वैधानिक अख्तियारी’ प्रति समर्थन जनाएको छ । ‘विदेशी सरकारहरुको उक्साहटमा भेनेजुएलामा सत्ता विद्रोहको तयारी भइरहेको हामीलाई लागेको छ ।’

अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुँवा गुएइदोको भविष्य पनि अन्यौलमा पर्न थालेको अनुमान गरिएको छ । तर, युरेसिया ग्रुपमा आबद्ध विश्लेषकहरुले गुएइदोलाई विदेशी शक्तिराष्ट्रले समर्थन गरेका कारण मुख्य विपक्षी नेताका रुपमा स्थापित गर्न मद्दत गरेको बताएका छन् । यसपटक गुएइदोले शक्तिशाली भेनेजुएली सेनाको उच्च नेतृत्वको विश्वास जित्न सकेका छैनन् ।

उनीहरुले तत्कालै मदुरोको शासनसत्ता ढल्न सम्भव नदेखिएको बताएका छन् । तर, सत्ता परिवर्तनको पछिल्लो प्रयत्नमा दर्जनौंको ज्यान गएको छ ।

वासिङटनमा, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलाको सङ्कटका विषयमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन आग्रह गरेका छन् । पोम्पेओले भने, ‘बहसको समय घर्किसक्यो । पूर्व राष्ट्रपति निकोलास मदुरोको सत्ता अवैधानिक हो ।’ ‘प्रदर्शनकारीमाथि भइरहेको निर्मम दमनले अमेरिका दुःखी छ,’ उनले भनेका छन् ।

निहत्था प्रदर्शनकारीमाथि सैनिक शक्ति प्रयोग गरिएकोप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै विकल्प खुला रहेको’ प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले भेनेजुएलाविरुद्ध थप आर्थिक नाकाबन्दी लगाउने सम्भावना पनि छ ।

भेनेजुएलामा उत्पादित एक तिहाई इन्धन संयुक्तराज्य अमेरिका निकासी हुने गर्दछ । विश्लेषकहरुले तेल आयातमा कुनै किसिमको नाकाबन्दी लगाइए त्यसले अमेरिकी अर्थतन्त्रमा समेत असर पर्ने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला विवादमा पनि डेमोक्र्याट पार्टीबाट खासै समर्थन प्राप्त गरेका छैनन्। डेमोक्र्याटी पार्टीका एकजना वरिष्ट सदस्य एवं सिनेटर बर्नी स्यान्डर्सले भने, ‘हामीले विगतका पाठबाट सिक्नु पर्दछ र कुनै मुलुकको सत्ता परिवर्तनमा अल्झिनु हुँदैन वा कुनै किसिमको सत्ता विद्रोहलाई समर्थन गर्नुहुँदैन । विगतमा हामीले चिली, ग्वाटेमाला, ब्राजिल र डोमिनिकन रिपब्लीकमा अमेरिकी प्रयत्न खासै फलदायी नरहेको उदाहरण हाम्रै अघिल्तिर छ ।’

उनले भेनेजुएलाको सत्ताले निहत्था प्रदर्शनकारीमाथि गरेको निर्मम दमनको भत्र्सना गरे ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मदुरोलाई टेलिफोन गरी समर्थन जनाएका छन् । भेनेजुएलामा उत्पन्न सङ्कट बाहिरी मुलुकको उक्साहटमा भएको समेत पुटिनले बताएका छन् ।

भेनेजुएलालाई सबैभन्दा बढी ऋण उपलब्ध गराइआएको चीनले बाह्य शक्तिले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाप्रति आपत्ति जनाएको छ ।

मदुरोलाई मेक्सिको, क्युबा र बोलिभियाका वामपन्थी सरकारहरुले विगतमा झैं समर्थन यथावत रहेको जनाएका छन् । -एएफपी