प्रदेशमा पनि इन्धनमा दोहोरो दोहन

177

नयाँ पत्रिका, सुस १०
सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् । मुख्यमन्त्री कार्यालयबाट इन्धनबापतको रकम बुझ्ने मन्त्रीहरूले गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् । मन्त्रीहरूको पारिश्रमिक र सेवासुविधासम्बन्धी ऐनअनुसार सरकारले मन्त्रीहरूलाई मासिक २ सय ५० लिटर र राज्यमन्त्रीहरूलाई दुई सय लिटर इन्धन सुविधा दिन्छ । यो रकम उनीहरूले मासिक पारिश्रमिकसँगै नगदमा बुझ्दै आएका छन् । तर, मन्त्रीहरूले मन्त्रालयबाट थप मासिक ३ सय २० लिटरसम्म तेल लिने गरेको पाइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले साउनयता मन्त्रालयबाट ९ सय लिटर तेल बुझेका छन् । उनका स्वकीय सचिवले पनि मन्त्रालयकै सवारीसाधन र इन्धन प्रयोग गर्ने गरेको मन्त्रालय स्रोतले जनाएको छ । त्यस्तै, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले मंसिरमा मात्रै मन्त्रालयबाट १ सय ३५ लिटर तेल हालेकी छिन् । मन्त्रालयको तथ्यांकअनुसार उनले भदौमा १ सय १७ लिटर, असोजमा १ सय ४२ लिटर र कात्तिकमा १ सय २५ लिटर तेल मन्त्रालयबाट लिएकी छिन् । मन्त्री चौधरीका स्वकीय सचिवले पनि मन्त्रालयबाट इन्धन लिने गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले मंसिरमा २५ हजार पाँच सय ३० रुपैयाँको इन्धन मन्त्रालयबाट हालेका छन् । मन्त्रालयका लेखा अधिकृत शिवराज ओझाका अनुसार कार्यक्रममा जाँदा मन्त्रीको गाडीमा मासिक करिब डेढ सय लिटर तेल हाल्ने गरिएको छ ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले मंसिरमा मात्र मन्त्रालयबाट तीन सय २० लिटर तेल लिएका छन् । २७ कात्तिकमा शपथ लिएका मन्त्री सुवेदीले कात्तिकमा मात्र ५० लिटर इन्धन लिएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।
२७ कात्तिकमा नियुक्त भएका उद्योग राज्यमन्त्री प्रकाश रावलले पनि मन्त्रालयको कुपनबाट चार सय ४७ लिटर तेल हालेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले साउनयता मन्त्रालयबाट एक सय ८० लिटर तेल लिएका छन् । उद्योगमन्त्री माया भट्टले साउनयता सय लिटर तेल लिएकी छिन् । अधिकांश मन्त्रीका स्वकीय सचिवले पनि मन्त्रालयबाट मोटरसाइकल र इन्धन लिएका छन् ।