भक्तपुर नगरक्षेत्रमा दर्ता नभएका खाद्य पसल छ्यापछयाप्ती

230

पुस १,
भक्तपुर । भक्तपुर नगरपालिका बजार अनुगमन समितिले नगरपालिकाको व्यासी र कासनका खाद्य पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा एलेन कोजुको किराना तथा भेज सप्लायर्समा नवीकरण नगरेको, सफा नभएको, पेटीमुनि सामान राखेको र किराना पसलमै तरकारी बिक्री गरेको, बालमुकुन्द कोजुको खाद्यान्न पसल पनि सफा नभएको र नवीकरण नगरी सञ्चालन गरेको पाइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । कान्छा स्टोर, महाकाली मल्टी स्टोर (मिनी मार्टं) दर्ता नगरी सञ्चालन गरिएको, बिनाअनुमति मादक पदार्थको बिक्री गरेको, माया कोल्डस्टोर दर्ता नगरेको, लेबल नभएको प्याकेजिङ सामान बिक्री गरेको, म्याद नाघेकाको सामान बिक्री स्थलमै राखेको, महाकाली किरान स्टोर र कुमार किराना पसल दर्तालगायत सम्बन्धित कागजात पसलमा नराखेको पाइएको छ । दर्ता र नवीकरण नगरेको पसललाई तीनदिनभित्र दर्ता तथा नवीकरण गर्न, पसल सफा राख्न, लेबललगायतका सामान मात्रै बिक्री गर्न, म्याद गुज्रेका सामान बिक्री स्थलमा नराख्न निर्देशन दिएको छ । नगरपालिकाका निरीक्षक दिलीपकुमार सुवाल, निरीक्षक रामकृष्ण प्रजापति, महानगरीय प्रहरी परिसरका राजबहादुर डगौरा, जिल्ला जनस्वास्थ्य कार्यालयका धनञ्जय आचार्य, जनस्वास्थ्यका कमल केशरी राजचल र उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छेको टोलीले बजार अनुगमन गरेको थियो । -रासस