हिँडेको जन्ती, बन्नुपर्‍यो मलामी !

171

मंसिर २७,
बुटवल– गएराति दुई बजेअघिसम्म बेहुलाको घरबाट फोनमा बेहुली लिएर आउँदै गरेका जन्तीलाई सोधिँदै थियो– कहाँ आइपुग्यो ? भनेर । जवाफ हुन्थ्यो– मौरीघाटमा खाना खाँदैछौँ, अब छिट्टै आउँछौँ । तयारी गर्दैगर्नु । बेहुला बेहुली भित्र्याउन आतुर र हर्षित थिए आफन्तजनहरू । रत्यौली पनि चल्दै थियो । बेहुलाका बाबु साकाहारी भएकाले पूर्णतः भेज आइटम बनाइँदै थियो ।
त्यसको करिब १ घण्टापछि फोन आयो, जुन फोनले सबै आफन्तजनलाई छाँगाबाट खसाइदियो । क्षणभरमै बिहेको रमझम र खुशी रुवाबासीमा परिणत बन्यो । प्रसङ्ग बिहीबार बिहान लमही नगरपालिका–९ रिहार भन्ने स्थानमा जन्ती बोकेको स्कारपियो जिप दुर्घटनाको हो ।दुर्घटनामा परी बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका वडानम्बर ९, समशेरगञ्जका २७ वर्षीया बेहुला यज्ञबहादुर केसीका पिता ५३ वर्षीय मनबहादुर केसी र उनकी धर्मपत्नी ४२ वर्षीया विमला केसीसहित ६ जनाको ज्यान गयो ।यो दुखद् घटनापछि मृतकहरूको शव लमही अस्पतालमा पोस्टमार्टमपछि दाहसंस्कारका लागि राप्ती नदी किनारमा लगिएको बेहुला परिवारका भानिज नाता पर्ने दीपक केसीले बताए ।‘हामी घाइते दुईजना उपचारमा कोहलपुरतिर छौँ’, केसीले भने– ‘बेहुलाबेहुली बोकेको गाडी घर पुगिसक्यो भन्ने सुनेका छौँ । यस्तो बेलामा बेहुली भित्र्याउने त कुरै भएन । अन्त्येष्टितर्फ नै लागिँदै छ ।’ उनले शमशेरगञ्जमा मात्र नभई सिङ्गो बाँके र दाङ जिल्लासम्म सन्नटा छाएको बताए । केसीका अनुसार चितवनको गीतानगरबाट बेहुली ल्याएर मौरीघाटमा रमाइलो गर्दै खान खाइसकेपछि ८ जना सवार बेहुलाका आमाबुबा चढेको गाडी घरमा पर्सिने तयारीका लागि सबैभन्दा अगाडि लागेको थियो ।