Sunday, September 27, 2026
Home प्रदेश जहाँ राज्य छैन

जहाँ राज्य छैन

146

क्रान्ति शाह/अन्नपूर्ण पोष्ट
मंसिर २४, वीरगन्ज । गाउँमा एउटै पसल छैन। स्वास्थ्य चौकी त परको कुरा, औषधि पसलसम्म छैन। सडक छैन। भनेको बेला मोबाइल नेटवर्कले काम गर्दैन। आश्चर्य त के भने गाउँभरिमा एउटै धारा वा चापाकल छैन। सरकारीको नाउँमा एउटा प्राथमिक स्कुलको थोत्रो भवन छ। यहाँका मान्छे जंगली जन्तुबाट जोगिएर जीवन बिताइरहेका छन्। यो सिकारीवास गाउँ हो र यहाँ राज्य छैन। सिकारीवास पर्साको ठोरी गाँउपालिका–३ मा पर्छ। वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने ब्रम्हनगर गाँउको चोकबाट उत्तरतिर सात किलोमिटर जंगलको गोरेटो पार गरेपछि पुगिन्छ सिकारीवास। यो गाउँ अहिले खोरिया फाँडेर बसाइएको होइन। ठोरी गाउँपालिकाकै पुरानो बस्ती सिकारीवास डेढ सय वर्ष पहिले बसाइएको हो। पर्सा र चितवन राष्ट्रिय निकुञ्जबीचमा छ यो बस्ती। यहाँका बासिन्दा स्वास्थ्य, शिक्षा, पिउने पानी, सडकजस्ता राज्यबाट पाउनुपर्ने सबै सुविधाबाट वञ्चित छन्।

शुक्रबार दिउँसो सुदीपबहादुर बस्नेत घरमै भेटिए। ७० वर्षे बस्नेतलाई नातिनातिनालाई स्कुल नपठाई घरमै राख्नुपरेको चिन्ताले सताएको छ। ‘दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, हामी सिटामोल लिन पनि तीन घण्टा जंगलको बाटो हिँड्नुपर्छ,’ उनले भने, ‘गाँउमा एउटा धारा पनि छैन। खोलाकै धमिलो पानी खान्छौं। नातिनातिना स्कुल जान पाउँदैनन्। यो सबै हेर्दा त हामी यो जुगको मान्छे होइनौंजस्तो लाग्छ।’ बस्नेतका अनुसार गाउँमा दुई दशकअघिसम्म झण्डै एक सय घरधुरी थिए। अहिले ४०/४२ घर मात्र बाँकी छन्। राज्यले त्यहाँका बासिन्दालाई कहिल्यै सहारा दिएन। आधारभूत सेवा सुविधाबिनाको कष्टकर जीवन जिउन गाह्रो हुँदै गयो। त्यसैले गाउँ छोड्ने क्रम बढिरहेको छ।