नगरकोटको पर्यटन व्यवसाय धरापमाः हजारौंलाई असर गर्ने

141

कार्तिक १५,
नगरकोट । नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएको विरोधमा नगरकोटका होटल तथा पर्यटन व्यवसायी, होटल मजदुरले चाँगुनारायण नगरपालिका घेराउ गरी ज्ञापनपत्र बुझाएका छन् । नगरकोट घुम्न आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले ३ सय मिटरको फरकमा दोहोरो पर्यटन शुल्क लिएपछि व्यवसायीले त्यसको विरोधमा ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पनि विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आएको नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घले आज चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई नगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै सङ्घका अध्यक्ष इन्द्र लामाले एकै ठाउँमा आउँने पर्यटकसँग शुरुमा चाँगुनारायण नगरपालिकाले र मण्डन देउपुर नगरपालिकाले शुल्क उठाएपछि नगरकोटमा पर्यटन व्यवसाय सङ्कटमा परेको बताए । सङ्घका सचिव धनबहादुर लामाले नगरकोट आउँने पर्यटक ५० प्रतिशतभन्दा बढी घटेको बताउँदै आएका पर्यटकले पनि दुई ठाउँमा कर तिर्नुपर्दा उल्टै गाली गर्ने र अब नगरकोट नआउने भन्दै फर्कने गरेको बताए । यसरी नगरकोटको पर्यटन व्यवसाय धरापमा भएसगैं होटल व्यवसायी, मजदुर, स्थानीय बासिन्दालगायतका हजारौं जिवनमा प्रत्यक्ष रुपमा आर्थिक संकट देखिने व्यवसायीहरुको भनाई रहेको छ ।