कार्तिक १५,
काठमाडौं । बुधबार प्रदेश ३ को मन्त्रिपरिषद् बैठकमा भनाभन भएपछि मुख्यमन्त्री डोरमणी पौडेले भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पदबाट हटाउने योजना बनाएका छन् । मुख्यमन्त्री पौडेललाई तल्लोस्तरमा उत्रिएर गाली गरेको स्थापित माथी आरोप छ । एक मन्त्रीका अनुसार स्थापितले सम्हालेको मन्त्रालय महत्वपूर्ण र बजेट समेत धेरै भएको मन्त्रालय हो तर उनले सोच जस्तो काम गर्न सकिरहेका छैनन्। जसले समग्र प्रदेशको विकास निर्माण गर्ने जिम्मेवारी पाएको छ । तर, प्रदेश ३ मा यो मन्त्रालयले प्रदेश सरकार गठन भएदेखि अहिलेसम्म प्रभावकारी कुनै एक काम नगरेको गुनासो बढ्दै गएको थियो । घटनापछि आफूलाई अभद्र व्यवहार गर्ने मन्त्री स्थापितलाई हटाउने मनस्थितिमा मुख्यमन्त्री पौडेल पुगेका छन् । त्यही निष्कर्षसहित मुख्यमन्त्री पौडेल बिहीबार हेटौडामा आयोजित पूर्वनिधारित कार्यक्रम छोट्याएर काठमाडौं आइसकेका छन् । ‘घटनाबारे मुख्यमन्त्रीज्यूले प्रधानमन्त्री र पार्टी नेतासँग कुरा गर्नेगरी काठमाडौँ जानुभएको छ । उहाँले कि आफू नरहने कि स्थापितलाई हटाउने दुई विकल्प बोकेको हुनुपर्छ’ एक मन्त्रीले भने, ‘दुई विकल्पमध्ये सायद स्थापितको पद नै जानसक्छ ।’ संविधानको धारा १६९ अनुसार मुख्यमन्त्रीले मन्त्रीलाई पदमुक्त गर्न सक्ने अधिकार छ । यस विषयमा मन्त्री स्थापितले मुख्यमन्त्रीसँग ‘सामान्य भनाभन’ भएको संक्षिप्त प्रतिक्रिया दिए । मुख्यमन्त्रीसँग सामान्य भनाभनमात्रै भएको र आफ्नो ठूलो स्वर भएकै कारण गलत सन्देश गएको उनको दाबी थियो । -Ratopati