बुटवल उपमहागरपालिकाद्धारा सेवाग्राही सम्मानित

130

कार्तिक ८,
रुपन्देही । रुपन्देहीको बुटवल उपमहागरपालिकाले शुरु गरेको सहुलियतमा घर नक्शा डिजाइनको सेवा लिएका सेवाग्राहीलाई आज सम्मान गरेको छ । उपमहानगरपालिकाले गत भदौदेखि शुरु गरेको उक्त सेवाअन्तर्गत ४३ जना नगरपालिकामा सम्पर्कमा आएको र १४ जनाको सहुलियतमा घरको नक्शा तथा डिजाइन गरेको उपमहानगरपालिकाका योजना प्रमुख इञ्जिनीयर सुमन श्रेष्ठले जानकारी दिनुभयो । उपमहानगरपालिकाले नगरभित्र निर्माण गरिने एकतलामा एक हजार वर्गफिट क्षेत्रफल ओगटेका एकतले घरका नक्शा डिजाइनका लागि न्यूनतम शुल्क रु पाँच हजार र तीन तलासम्मको रु आठ हजार लिने गरेको छ । उपमहानगरपालिकाले उक्त सेवा प्रदान गर्न दुई प्राविधिक छुट्टै खटाएको छ । सोही कामका लागि व्यावसायिक घर नक्शा डिजाइनरले भने रु ३० हजारसम्म लिने गरेका छन् । उपमहानगरपालिकाले नगरभित्र घर बनाउने नगरवासीलाई घर निर्माणका लागि चाहिने नक्शा न्यूनतम शुल्क लिएर आफैँ बनाइदिने कार्यक्रम अघि सारेपछि नगरवासीलाई नक्शाका लागि खर्चिनुपर्ने अनावश्यक रकम र भरपर्दो प्राविधिक खोज्नुपर्ने झण्झट कम भएको छ । रासस