‘पार्टीभित्र एकताको खाँचो छ’

196

असोज १८,
काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीभित्र एकताको खाँचो रहेको बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकदृष्टि जर्नल विमोचन, चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम’मा उहाँले भन्नुभयो, “काङ्ग्रेसको आन्तरिक एकता मजबूत भयो भने कसैले चाहेर पनि हराउन सक्दैन ।”
“इतिहास, सिद्धान्त र कार्यकर्तामा काङ्ग्रेस बलियो छ तर निर्वाचनमा किन पराजय हुन्छ,” उहाँले प्रश्न गर्नुभयो । महामन्त्री डा. कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाइ छाड्ने प्रतिवद्धता व्यक्त गर्दै महामानव विपी कोइरालाको हातबाट लेखिएको पार्टीको विधान संविधानअनुसार परिवर्तन हुन लागेको जानकारी दिनुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले संशोधन हुन लागेको पार्टीको विधानमा सभापतिलाई बलियो बनाए पार्टीभित्र निरंकुशता हावी हुने उल्लेख गर्दै “सभापतिलाई बलियो बनाउने कुरा स्वीकार्य हुन सक्दैन, ”, भन्नुभयो । नेता डा कोइरालाले दुई तिहाइको सरकार संविधानको भावना र मर्मलाई बुझेर अगाडि नबढेको आरोप लगाउनुभयो । रासस