भारतमा हुने बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने

93
सांकेतिक तस्विर

भदौं २३,
काठमाडौं । बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् । भदौ २५ देखि ३१ गते ९सेप्टेम्बर १०–१६० सम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ । प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिम्स्टेक०को सैन्य अभ्यासको समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी हुँदै थिए । प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेनाले सहभागिताका लागि गरेको सम्पूर्ण तयारी स्थगित गरेको छ ।

‘बिम्स्टेक राष्ट्रबीच हुने सैन्य अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने भएको छ’, सैनिक उच्च स्रोतले अन्नपूर्णसँग भन्यो, ‘पुणे सैन्य अभ्यासमा जान गरिएको सबै तयारी हामीले स्थगित गरेका छौं ।’ सैन्य अभ्यासमा जान नेपाली सेनाले अन्तिम तयारी गरिरहेको थियो । पुणे संयुक्त सैन्य अभ्यासमा सहभागी हुने तयारीमा रहेका मुलुक थाइल्यान्ड र म्यान्मारले समेत पुनर्विचार गर्ने सम्भावना रहेको सैनिक स्रोतले बताएको छ ।

बिम्स्टेक सदस्य राष्ट्र भारतको आयोजनामा हुन लागेको उक्त अभ्यासमा भारतसहित बंगलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्डका सेना सहभागी हुने तयारी थियो । अभ्यासमा प्रत्येक बिम्स्टेक राष्ट्रका ३० जना सैनिक अधिकारी सहभागी रहने भएकाले नेपाली सेनाले समेत सोहीअनुसार तयारी गरिरहेको थियो । नेपालबाट पाँच जना अधिकृत र २५ जना अन्य दर्जाका नेपाली सैनिक अधिकारी सहभागी हुने तयार थियो । नेपाल र चीनबीच समेत अर्को महिना संयुक्त सैन्य अभ्यास हुँदैछ । चीनको सिचुवान प्रान्तको छेन्दुमा असोज १ देखि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संंयुक्त सैन्य अभ्यास हुन लागेको हो ।
-अन्नपूर्ण पोष्ट