बेगनास तालमा डुंगा दुर्घटनाः एक जनाको मृत्यु, ५ जना बेपत्ता

85

भदौ २३,
कास्की । कास्की पोखराको बेगनासतालमा ९ जना सवार डुंगा पल्टिएको छ । डुंगामा सवार ९ जनामध्ये ५ जना बेपत्ता भएका छन् । ४ जनाको उद्दार गरिएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उद्दारका लागि प्रहरी टोली घटनास्थल जाँदै गरेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।
बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ । डुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् । उनीहरुको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । -अनलाइन खबर