निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुर तनावग्रस्त

96

भदौं ५,
कन्चनपुर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेपछि तनाव सिर्जना भएको छ । सोमबार अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको स्थानीयको आरोप छ । विरोध प्रदर्शनका क्रममा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले भीमदत्तनगर बजार समेत बन्द गराएका छन् । प्रहरीले मुख्य अपराधी पक्राउ नगरी मानसिक सन्तुलन गुमाएकालाई मुख्य अभियुक्त भनेर सोमबार सार्वजनिक गरेका एक आन्दोलनकारीले बताए ।

प्रहरीले राजनीतिक दबाबमा मुख्य अभियुक्त बचाउन खोजेको दाबी गरिएको छ । यसअघि गत १० साउनमा साथी घरमा गएकी निर्मला एकाएक बेपत्ता भएकी थिइन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो । लगत्तै, प्रहरीले अनुसन्धान थालेको थियो । तर, लामो समयसम्म कुनै सुराक हात नलागेपछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली कन्चनपुर पुगेको थियो । तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले मंगलबार भीमदत्तनगर बजार बन्द गराएका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ । नागरिक सङ्घर्ष समिति बनाएर स्थानीयवासी लामो समयदेखि आन्दोलनमा छन् । उनीहरुले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन् । नागरिक समाज र अधिकारकर्मीले वास्तविक हत्यारालाई सार्वजनिक गर्न दबाब दिइरहेका छन् ।

गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो । पक्राउ परेका विष्टले नै पन्तको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी बताउँछन् । घटनापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत अनुसन्धानका लागि कञ्चनपुर आएको थियो ।