विप्लवका प्रवक्ता विकलाई अदालतमा उपस्थित गराउन आदेश

109

साउन २८,
काठमाडौं । केही दिन अगाडी पक्राउ परेका नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन भनेको छ । चन्दा उठाएको आरोपमा पक्राउ परेका उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । प्रकाण्ड हाल प्रहरी हिरासतमा छन् । चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्न आइतबार मात्र उनलाई जिल्ला अदालत, काठमाडौंले थप ३ दिन थुनामा राख्न आदेश दिएको थियो ।