Wednesday, September 23, 2026
Home पत्रपत्रिका विद्यालय सञ्चालक फुट्दा विद्यार्थीसमेत भागबन्डा

विद्यालय सञ्चालक फुट्दा विद्यार्थीसमेत भागबन्डा

विद्यार्थीलाई समस्या पार्न मिल्दैनः शिक्षा मन्त्रालय

85

नयाँ पत्रिका दैनिक- साउन ३२,
ललितपुर । आपसी लेनदेनको विषयले निजी विद्यालयका सञ्चालक फुट्दा ललितपुर चाल्सीखेलमा रहेको ज्ञानकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थी खोसाखोस भएको छ । यसले माध्यमिक शिक्षा परीक्षा ९एसइई०को तयारीमा रहेका विद्यार्थी प्रत्यक्ष मारमा परेका छन् । स्कुलका बहुमत सञ्चालकले तत्कालीन प्रिन्सिपल शिव कार्कीलाई सञ्चालक र प्रिन्सिपल पदबाट निलम्बन गरेपछि कार्कीले झन्डै ५० भन्दा बढी विद्यार्थी अर्को विद्यालयमा लगेका छन् । उनीहरूमध्ये केही विद्यार्थी एसइईको तयारीमा छन् ।

कार्कीले आफ्नो नयाँ स्वामित्व रहेको ग्वार्कोस्थित मेरिगोल्ड स्कुलमा लगेका ती विद्यार्थीको भविष्य अन्योलमा रहेको भन्दै ज्ञानकुञ्जका वर्तमान सञ्चालकहरू विद्यार्थी फर्काउने प्रयासमा छन् । कक्षा १० का १४ जनामध्ये १२ जना विद्यार्थी कार्कीले लगेको उनीहरूको दाबी छ । प्याब्सनले जेठपछि एकबाट अर्को विद्यालयमा सार्न नपाउने आचारसंहिता बनाएकाले ती विद्यार्थीको भविष्य अन्योलमा रहेको उनीहरू बताउँछन् । ‘लगिएका विद्यार्थीको शैक्षिक भविष्यप्रति हामी चिन्तित छौँ,’ ज्ञानकुञ्जका संस्थापक ठक्कर शर्माले भने, ‘अहिले लगिएका विद्यार्थीले एसइईको परीक्षा फारम भर्न नपाए के होला रु’

साउन पहिलो साता बसेको सञ्चालकहरूको बैठकले कार्कीलाई प्रिन्सिपलबाट हटाएको थियो । दुई वर्षमा फिर्ता गर्ने गरी ०७० मा कार्कीलाई दिएको सेयर पाँच वर्षसम्म फिर्ता नगरेपछि कार्कीलाई हटाएको शर्माले बताए । तर, आफूलाई स्पष्टीकरणसमेत नसोधी प्रिन्सिपलबाट हटाएको दाबी कार्कीको छ । लेनदेन विवादले विद्यार्थीको भविष्यमाथि नै समस्या हुँदा अभिभावक पनि चिन्तित छन् । अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले लेनदेन विवादले विद्यार्थीको भविष्यमाथि नै समस्या उत्पन्न हुनु लज्जास्पद भएको बताए । सञ्चालकको विवादले विद्यार्थीलाई असर पार्न नहुने शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालको भनाइ छ । ‘सञ्चालकले विद्यार्थी तानातान गर्नु अशोभनीय कुरा हो,’ नयाँ पत्रिकासँग उनले भने, ‘विद्यार्थीलाई केन्द्रमा राखेर अनुमति दिइएको हो, सञ्चालकको विवाद विद्यार्थीसम्म पुग्नुहुँदैन ।’

एसइई दिने विद्यार्थी अलपत्र
विवादपछि विकसित घटनाक्रमले ज्ञानकुञ्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । दुवै पक्षका सञ्चालक भने जिम्मेवारी लिनुभन्दा एक–अर्कालाई आरोप लगाउन व्यस्त छ ।
कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी लगेर कार्कीले विद्यार्थीको शैक्षिक भविष्य अलपत्र पारेको ज्ञानकुञ्जका प्रमुख सेयरहोल्डर तथा नवनियुक्त प्रिन्सिपल ठक्कर शर्माको छ । यता, कार्कीले भने ज्ञानकुञ्जबाट ५०र५५ विद्यार्थी ल्याए पनि त्यसमा कक्षा १० का विद्यार्थी नरहेको दाबी गरेका छन् ।