यसरी मनाइयो लोकगायक बुद्धीकृष्ण लामिछानेको जन्मदिन

132

साउन १,
भक्तपुर । बिरामी भएर घरमै थला परेका चर्चित लोक गायक बुद्धीकृष्ण लामिछानेको जन्मदिन चाँगुनारायण नगरपालिका र भक्तपुर सांगितिक समाजले मनाइदिएको छ । नगरपालिका प्रमुख सोम मिश्रसहितको सांगितिक समाजको टोली लोकगायक लामिछानेको घरमै पुगेर केक काटेर ६५औं जन्मदिन मनाएको हो ।

घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर….., पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुदीँ हुन मलाई सम्झेर……., फाटेको दौरा लाएर, खोले सिस्नु खाएर….जस्ता जीवन्त गितका गायक लामिछाने अहिले अस्वस्थ हुनुहुन्छ । भेट्न जाने मानिसहरुलाई राम्ररी आँखाले ठम्याउन पनि मुस्किल छ । स्वास्थ्य अवस्था राम्रो नभएका कारण टहरामा कठिन दैनिकी व्यतित भइरहेको छ । भुकम्पले घर क्षतबिक्षत बनेका कारण जस्ताको टहरामा जीवन बितिइरहनुभएका लामिछानेलाई आफ्नो जन्मदिन पनि याद थिएन । जन्मदिन मनाउन गएको टोलीले जन्मदिनको याद गराएर केक काटेपटि भने लामिछानेको अनुहारमा मन्द मुस्कान देख्न सकिन्थ्यो ।
लोकगायक लामिछानेको जन्मदिन मनाइसकेपछि चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले सांगितिक श्रेत्रका राष्ट्रिय व्यक्तित्व लामिछानेको नाममा सडकको नामाकरण गरिने बताउनुभयो ।

उहाँले मुहानपोखरीदेखी लामिछानेको घरसम्म पुग्ने सडकको नाम बुद्धीकृष्ण मार्ग राखिने र त्यसका लागि आवश्यक पूर्वाधार विकास गरिने बताउनुभयो । प्रमुख मिश्रले लामिछानेको स्वास्थ्य उपचार र परिवारका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्र गर्नुभयो ।
सो अवसरमा भक्तपुर सांगितिक समाजका अध्यक्ष प्रबिण शाहीले लोक गायन क्षेत्रमा जीवन्त सांगितिक कोशेली दिनुभएका मुर्धन्य लोकगायकको राज्यले उचित सम्मान र उपचार प्रदान गर्न नसकेको गुनासो गर्नुभयो । समाजका उपाध्यक्ष कपिल कसपालले राज्यको तर्फबाट लामिछानेको उपचार गर्न माग गर्नुभयो ।