बहुभाषी चलचित्र हिमआँधीको छायांकन रोकियो

324

असार १७
काठमाडौं । बहुभाषी चलचित्र हिमआँधीको छायांकन रोकिएको छ । नेपालभाषाको कृति “जि वयाला लच्छि मदुनि”लाई आधार बनाएर नेपाली, नेपालभाषा, अंग्रेजी तथा चिनियाँ भाषामा एकैसाथ बनिरहेको चलचित्रको छायांकन रोकिएको हो । युवा निर्देशक प्रदीप खड्गीको सवारी दुर्घटना भएकोले केहि समयको लागि सुटिङ प्याक अप गरिएको छ ।
“तिब्बतको ल्हासा, दोलखाको कालिञ्चोक, मुस्ताङ, भक्तपुर तथा काठमाडौंमा सकाएर काभ्रेको पनौतीमा सुटिङ भइरहेको बखत, मेरो सवारी दुर्घटना भयो ।” निर्देशक खड्गीले जानकारी दिए । तत्कालिन श्री ३ महाराज जंगबहादुर राणाजीको सुटिङ सकाएर घर फर्कने क्रममा कीर्तिपुरस्थित नयाँ बजार चोकमा उहाँको सवारी दुर्घटना भएको थियो ।

निर्देशक खड्गीलाई चिकित्सकले केहि समयको लागि घर मै बसेर पूर्ण रुपमा आराम गर्न सुझाएको छ । उहाँको सवारी दुर्घटनाको कारणले करिव ९० प्रतिशत सकिसकेको छायांकन रोकिएको हो । ऐतिहासिक चलचित्र “कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी” लाई सफल रुपमा निर्देशन गरिसकेका युवा निर्देशक खड्गीको दाहिने छातीको हाडमा समस्या देखिएको कीर्तिपुर अस्पताल स्रोतले जनाएको छ । खड्गीसँगै बहुभाषी चलचित्र हिमआँधीका सहायक निर्देशक विनेश श्रेष्ठ पनि घाइते भएका छन् ।
तत्कालिन तिब्बतको ल्हासा तथा नेपालबीचको व्यापारिक सम्बन्ध, राजनीतिक अस्थिरता तथा प्रेमकथालाई लिएर चलचित्र बनिरहेको छ । महाजु फाउण्डेसनको व्यानरमा निर्माण भइरहेको बहुभाषी चलचित्र हिमआँधीका कार्यकारी निर्माता ओमचरण अमात्य हुन् । उहाँ कै परिकल्पनाको आधारमा चलचित्र बनिरहेको छ ।

चलचित्रमा सनिश शाक्य, निकी महर्जन, राजेन्द्रमान शाक्य, आशाकाजी थकू, सुशील राजोपाध्याय, सुरज व्यञ्जनकार, रुपेन्द्र श्रेष्ठ, राजेन्द्र महर्जन, संजय शर्मा राजोपाध्याय, ह्रदय प्रसाद मिश्र, श्यामसुन्दर शिल्पकार, अरुणेश्वरी शिल्पकार, मञ्जु श्रेष्ठ तथा पल्पसा डंगोल लगायतका कलाकारहरुको भूमिका छ । शंकर महर्जनको छायांकन रहेको चलचित्रलाई बालमुकुन्द प्रजापतिले कला निर्देशन गरेका छन् । सहायक निर्देशकको भूमिकामा रक्की महर्जन, सागर महर्जन तथा विनेश श्रेष्ठ छन् । -केके मानन्धर