दुई राप्रपा एकीकरणका लागि औपचारिक वार्ता सुरु

94

नयाँ पत्रिका दैनिक, असार ६,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रि) बीच पार्टी एकताका विषयमा आ–आफ्नो पक्षबाट मोडालिटी तय गर्ने सहमति भएको छ । पार्टी एकताका लागि दुवै पार्टीले गठन गरेका वार्ता समितिको मंगलबार बसेको पहिलो बैठकले आ–आफ्नो पक्षबाट एकताको मोडालिटी तयार पारी अर्को बैठकमा पेस गर्ने सहमति बनेको हो । बालुवाटारको एक होटेलमा भएको वार्तामा राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोली संयोजक बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवं वार्ता टोली संयोजक दीपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्मा सहभागी थिए ।

राप्रपा वार्ता टोली संयोजक तामाङले पहिलो चरणको वार्ता सकारात्मक भएको र आगामी वार्तामा दुवै पक्षबाट एकताको मोडालिटी के–के हुन सक्छन् पेस गर्ने सहमति बनेको बताए । ‘पार्टी एकताको प्रयासका लागि पहिलोपटक भएको वार्ता सकारात्मक भएको छ,’ उनले भने, ‘अर्को बैठकमा दुवै पक्षबाट एकताका मोडेल कस्ता–कस्ता हुन सक्छन्, पेस गर्ने र त्यसैमा सहमतिका लागि प्रयास गर्ने सहमति बनेको छ ।’ सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा विवाद भएपछि नेता पशुपतिशमशेर राणाले गत वर्ष २२ साउनमा केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्य ल्याएर पार्टी फुटाएका थिए । राप्रपा प्रजातान्त्रिकका वार्ता टोली सदस्य शर्माले वार्ता सकारात्मक भएको र अब छिट्टै अर्को वार्ता बसेर पार्टी एकताको थप कुराकानी गर्ने जानकारी दिए । ‘समान विचार भएको राप्रपासँग पार्टी एकीकरणका लागि हामीले औपचारिक वार्ता सुरु गरेका छौं, वार्ता सकारात्मक छ, छिट्टै अर्को वार्ता गरेर थप कुरा गर्छौं,’ उनले भने ।