नारायणगढ–मुग्लिन सडकखण्डमा अब सररर यात्रा (भिडियो सहित)

159

तस्बिर सौजन्यः नारायणगढ–मुग्लिन सडक परियोजना
जेठ २३,
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रे भएको छ। आयोजनाका अनुसार मंगलबार रातिबाट उक्त सडकखण्ड पुरै कालोपत्रेसँग जोडिएको छ। ६ सेन्टिमिटर मोटो पहिलो तहको कालोपत्रे सम्पूर्ण खण्डमा सम्पन्न भइसकेकाले अब अवरोध नभएको अवस्थामा ३५ मिनेटमा नै उक्त सडकखण्ड सरररर पार गर्न सकिने सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए। ‘७० मिनेटलाई ५० प्रशेन्ट घटायर ३५ मिनेटमा ल्याउने र सडक सुरक्षामा उल्लेख्य सुधार गर्ने भन्ने नै हाम्रो प्रमुख उद्देश्य हो’, खनालले भने, ‘सोही अनुसार काम भएको छ।’ खनालले सडक कालोपत्रे बनेसँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको बताए। ‘सडक निर्माणका लागि दैनिक ६ घण्टा सडक बन्द हुँदै आएको थियो’, खनालले भने, अब बन्द हटेको छ भने सडक पनि खाल्डाखुल्डी, धुलो र हिलो रहित बनेको छ।’

भत्काइएको तीन वर्षपछि सडकखण्डले पूर्णता पाएको खनालले बताए। निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो गरी आयोजना सम्पन्न हो। ‘२०७२ सालको बिनाशकारी भूकम्पको मुखैमा योजनाको सम्झौता भएको थियो’, खनालले भने, ‘त्यसपछि भएको भारतीय नाकाबन्दी र इन्धन अभाव तथा भौगोलिक बनावट, पहिरोको जोखिम, सवारी चापको व्यवस्थापनले गर्दा निर्माणमा केही ढीला भएपनि अन्य आयोजनाको तुलनामा धेरै ढीलो भने भएको होइन। सबै पक्षले जिम्मेवार ढंगले आ–आफ्नो ठाँउबाट सहयोग गरेर निर्माण कार्यमा सघाएकोमा खनालले खुशी व्यक्त गरे। आयोजनाको सम्पूर्ण काम सम्पन्न हुन अझै केही समय लाग्ने बताउँदै खनालले अब यात्रुले सहज तरिकाले यात्रा गर्न पाउने सुनिश्चित भएको बताए। बाँकी रहेका ठाउँमा दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम म्याद थप भएमा सोही समयभित्र र यदि म्याद थप नभएमा जरिवाना तिराएर भएपनि सहजै सम्पन्न गर्न सकिने बताइएको छ। दृश्यः राम प्रसाद पुडासैनी युटुब च्यानलबाट साभार गरिएको