राष्ट्रिय राजमार्ग भत्काएर शाखा सडक बनाउँदा समस्या

348

जेठ १७,
बैतडी। स्थानीय तहहरुले जथाभावी रुपमा शाखा सडक निर्माण गर्न थालेपछि राष्ट्रिय राजमार्गहरुमा समस्या देखिएको डिभिजन सडक कार्यालय पाटन, बैतडीले जनाएको छ । इमेज समाचार अगाडी लेख्छ, अहिले सबै ठाउँमा राष्ट्रिय राजमार्गलाई जोडेर शाखा सडकहरुको ट्रयाक खोल्ने कार्य भईरहेको र धेरै ठाउँमा सडक नै जोखिममा पार्ने गरी शाखा सडक निर्माण भईरहेको डिभिजन सडक कार्यालयका प्रमुख अमित श्रेष्ठले जानकारी दिए ।

दोगडाकेदार गाउँपालिकाले सिल्लेगडा–काँडा–सुनखोला–कपडा सडक निर्माण गर्दा महाकाली राजमार्गको केही भाग भत्काएर ट्रयाक खोलेको उनले आरोप लगाए । यो बिषयमा गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने आफूहरुले सडकलाई क्षति पुर्‍याउने नियतले सडक निर्माण नगरेको तर ट्रयाक ओपन गर्दा केही प्राविधिक समस्या भएको हुन सक्ने बताए । आफूहरुले पर्खाल लगाएर सडकमा पुगेको क्षतिलाई कम गर्ने उनले दाबी गरे ।

सार्वजनिक सडक ऐन २०३१ ले राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, सडक भत्काएर निर्माण गर्नुपरे धरौटी राखेर मात्रै निर्माण गर्नुपर्ने भएपनि बैतडीमा मनोमानी हिसाबले सडक निर्माण भईरहेको डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । उनले भने, ‘बिना स्टिमेट बनेका सडकहरुले भोलीका दिनमा समस्या निम्त्याउनेछ ।’ यसरी राजमार्ग नै क्षति गरेर शाखा सडकले राजमार्ग क्षेत्रमा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ । बैतडीका अधिकांश स्थानीय तहले सडकलाई प्राथमिकतामा राखेर ग्रामिण सडक निर्माण गरिरहेका छन् ।