प्रधानाध्यापकको छोरीको विवाहमा, विद्यालय २१ दिनदेखि बन्द

474

जेठ ८,
जाजरकोट । प्रधानाध्यापक छोरीको विवाहमा गएपछि यहाँको जुनिचाँदे गाउँपालिका ३ रानीचौरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय २१ दिनदेखि बन्द छ। प्रध्यानध्यापक योगेन्द्रप्रसाद चौधरी र शिक्षिका अनिता चौधरी छोरीको विवाह छ भन्दै घर गएपछि २१ दिन देखि विद्यालय बन्द भएको हो। छोरीको बिहेमा जान लागेको भन्दै विद्यालयबाट निस्केका प्रअ चौधरी हालसम्म सम्पर्कमा नआउँदा पठनपाठन प्रभावित भएको व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर खड्काले बताए। विद्यालय व्यवस्थापन समिति, स्रोत व्यक्ति कसैलाई पनि विद्यालयमा जानकारी गराएको छैन। लामो समयदेखि विद्यालयमा ताला लागेका कारण अभिभावकहरु आक्रोशित भएको व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए। करिब दुई सय विद्यार्थी रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा हाल पठनपाठन बन्द भएको अध्यक्ष खड्काले बताए। उता जुनिचाँदे गाउँपालिका शिक्षा शाखाका स्रोतव्यक्ति इन्द्र थापाले आफूलाई कुनै जानकारी नगराएको र अति आवश्यक काममा मात्र १२ दिन सम्म बिदामा बस्न पाउने व्यवस्था भएको बताए। सम्पर्क गर्ने कोसिस गरेको तर फोन अफ रहेको स्रोतव्यक्ति थापाले बताए।