जेठ ६,
काठमाडौं नेपाल प्रहरीले सरकारको निर्देशनमा मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाएको भन्दै वान स्टेप सेन्टर र भिएलएनका सञ्चालक राम श्रेष्ठलाई पक्राउ गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले ओएससी र भिएलएनका सञ्चालक श्रेष्ठलाई पक्रिएको हो । श्रेष्ठलाई भोलि म्याद थप गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । ओएससीले मलेसिया जाने कामदारको राहदानी संकलन गर्छ । यो कामका कम्पनीले २ हजार ८ सय रुपैयाँ शुल्क र भ्याट ३ सय ६४ गरी ३ हजार १ सय ६४ रुपैयाँ लिने गरेको छ । राहदानी दूतावाससम्म पुर्याउने भीएलएनले थप३ हजार ६ सय १६ लिन्छ । सरकारले मलेसियाले श्रमिकलाई आर्थिक भार पर्ने गरी विभिन्न बहानामा रकम असुल्ने राखेका कम्पनीले लिने शुल्क खारेज गरेको थियो ।