एकैपटक ४० आरोही सगरमाथाको शिखरमा

389

बैशाख ३१,
काठमाडौँ । आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् । सगरमाथा आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका छन् । अनुकूल मौसमको पर्खाइमा क्याम्प चारमा मात्रै १५० आरोही रहेका छन् । त्यस्तै केही आरोही भने सगरमाथा आधार शिविरमा नै रहेका छन् ।

दुवै खुट्टा नभएका चिनियाँ आरोही शिखरमा

सम्पर्क अधिकृत श्रेष्ठका अनुसार दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ नागरिक सिए बोयोले आज बिहान सगरमाथाको शिखरमा पाइला टेक्नुभएको हो । इमाजिन टे«क्स एण्ड एस्पिडिसन प्रालिकातर्फबाट आरोहण गर्नुभएका चिनियाँ नागरिक विगत ४० वर्षदेखि सगरमाथाको आरोहण गर्ने प्रयासमा हुनुहुन्थ्यो । उहाँसँगै सात चिनियाँ आरोहीले आजै सफल आरोहण गर्नुभएको हो । चिनियाँ टोलीसँगै नेपाली शेर्पा आरोही ताम्तिङ शेर्पा, किली पेम्बा शेर्पा, आङ्छिरिङ शेर्पा, टेण्डी शेर्पा र दावा ग्याल्जेन शेर्पाले पनि आजै आरोहण गर्नुभएको छ । सन् २०१५ मा पनि आरोहणमा लागि पग्नुभएको बोयो भूकम्पका कारण आरोहण परित्याग गरी फर्कनुभएको थियो । शारीरिकरुपमा कमजोर भएका नागरिकले सगरमाथा आरोहण गरेको यो पाँचौँ उदाहरण हो । यसअघि न्यूजील्याण्डका मार्क इनलिसले तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गर्नुभएको थियो ।

 

अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ वटा समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । बेस क्याम्पभन्दा माथि २०० भन्दाबढी आरोही रहेको र आज राति झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।