बैशाख ३१,
सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–६ रञ्जीतपुरमा २८ वर्षिया बबिता यादवलाई विगत १२ वर्षदेखि फलामको जन्जिरमा बाँधिएर राखिएको छ । सामान्यतयाः हाम्रो समाजमा गाईबस्तुलाई दाम्लोमा बाँधेर राखिन्छ । केही समयका लागि भए पनि चराउन बाहिर लगिन्छ । तर सप्तरीमा यादवलाई गएको १२ वर्षदेखि गोठभित्र फलामको जञ्जीरमा बाँधेर राखिँदै आएको छ । उनी बाहिरी संसारबाट अनभिज्ञ छिन् । खम्बामा बाँधिएकै ठाउँमा परिवारजनले खाना राखिदिएपछि उनी त्यहीं बसेर खान्छिन् । गोठको एक कुनामा फलामको जञ्जीरमा बाँधिएकै अवस्थामा आफंै बर्बराउने, हाँस्ने र कराउने गर्छिन् ।
कुनैबेला टोलकै सुन्दर, सुशील एवम् सभ्य युवतीका रुपमा कहलिएकी उनको अनुहार यतिबेला चाउरिंदै गएको छ । हात, खुट्टा र जीउ सुक्दै गएको छ । बबिता अर्थात मायाले मुन्नी नामबाट परिचित उनको अवस्था हेर्दा जो कोही पनि भावुक हुन्छन् । खाने लाउने उमेरमा उनको हालत यस्तो हुनुको कारण अझै खुल्न सकेको छैन । किनभने उनी भित्री कुरा भन्नसक्ने अवस्थामा छैनन् । यद्यपि, १२ वर्षअघि विवाह भएपछि घर गएको भोलिपल्ट बिहानदेखि नै बबिताले मानसिक सन्तुलन गुमाएको परिवारजनको भनाई छ । बबिताका दाजु विशेश्वर यादवका अनुसार घरको आर्थिक अवस्था कमजोर भएका कारण २०६२ सालमा दुई कट्ठा जग्गा बेची दाइजो खर्च जुटाएर बेल्ही चपेना गाउँपालिका–६, फकिरा निवासी अग्निदेव यादवसँग बबिताको विवाह भएको भएको थियो ।
विवाहमा ९० हजार रुपैयाँ नगद तथा सरसामान दिइएको दाजु विशेश्वरले बताए । उनका अनुसार दाइजोमा कबोल गरे अनुसार सबै सामान दिइए पनि पलङ्ग मात्र बाँकी थियो । एकमात्र बहिनी बबिताको विवाहका लागि बनाइएको स्वयंवरमा अचानक आगो लागेको क्षण सम्झँदै उनले भने, ‘स्वयम्वर समारोहमा अचानक आगलागी भयो, तत्कालै निभाएर विवाह हर्षोल्लासका साथ सम्पन्न भयो ।’ बहिनी बिहे गरेर घर पुगेको भोलिपल्ट आफूले पुछारी भार ९कोसेली० लिएर जाँदा अचानक बहिनी रुँदै आफू नजिक आएको स्मरण गर्दै उनले थपे, ‘कुनै कारणवश दुलाहाले कुटेको होला कि भनेर सम्झाउने प्रयास गरेँ, बहिनीलाई कुटपीट गरेको निलडाम हेरेर केही दिनका लागि दुलाहाका बुवालाई बिदा दिन आग्रह गरेँ, तर मेरो आग्रह स्वीकार गरेनन्, रुँदै घर फर्किएँ ।’
त्यसको भोलिपल्टै निर्घात कुटपीट गरी बेहोशी अवस्थामा बबितालाई अस्पताल भर्ना गरिएको खबर आएपछि उपचार गराएर घर ल्याइएको उनले बताए । माइतीबाट श्रीमानको घर लैजान दबाब दिँदा केही दिन राखेर पुनः माइतीमै छाडेर गएपछि हालसम्म बबिताको सोधखोज नगरेको उनले गुनासो गरे । ‘बहिनीले लगाएको गहनासमेत फुकालेर घरबाट पठाइयो’, आँखाभरि आँशु पार्दै विशेश्वरले भने, ‘त्यतिबेला बहिनीको उपचार गराउनमा लागें, दरभङ्गा लगेर उपचार गराउँदा खासै सुधार नआएपछि गएको डेढ वर्षदेखि बबिता जिउँदो लास भएर बाँचेकी छिन् ।’
बबिताको यस्तो हालत भएको चिन्ताले आमाको समेत केही वर्षमै मृत्यु भएको तथा घरपरिवार समेत धान्नुपर्ने भएकोले सुविधासम्पन्न अस्पतालमा उपचार गराउन नसकिएको विशेश्वरले स्वीकार गरे । उनका अनुसार पति अग्निदेवले समेत बबिताको खोजखबरसम्म नगरी अर्को विवाह गरेपछि बबिताको मानसिक अवस्था झन् बिगिँ्रदै गयो । घर पक्षले माइतमा ल्याएर छोडिदिएपछि परिवारजनले भ्याएसम्मको उपचार गराउँदा पनि सुधार नहुँदा बाँधेर राख्ने गरिएको उनले बताए । जिउको लुगा च्यात्ने, खुला छाडेपछि घरबाट भाग्ने, तोडफोड गर्ने जस्ता क्रियाकलापबाट आजित भएर बहिनीलाई बाँधेर राख्नुपरेको बताउँदै विशेश्वरले भने, ‘हातमा बाँधिएको जञ्जीर खोलिदिएपछि भाग्ने गर्छिन्, कतै केही भैदियो भने झन् समस्या हुन्छ भन्ने डरले बाँध्नुपरेको छ, हामीसँग त्यो बाहेक अर्को विकल्प छैन ।’आर्थिक अभावका कारण गएको डेढ वर्षदेखि बबिताको उपचार समेत रोकिएको छ । मानसिक सन्तुलन बिग्रिएर नारकीय जीवन बाँच्न विवश बहिनीको उपचारका लागि पहल गरिदिन विशेश्वरले सबै पक्षसँग आग्रह गरेका छन् । आर्थिक सम्पन्नता र पहुँच हुनेले देश–विदेशको सुविधासम्पन्न अस्पतालमा उपचार गराएर निको भएको आफुले सुन्ने गरेको बताउँदै उनले भने, ‘जग्गा बेचेर आएको ६ लाख रुपैयाँले भारतको दरभंगामा बहिनीलाई उपचार गराएँ, खासै सुधारसमेत नदेखिएपछि पैसा अभावले उपचार रोकिएको छ ।’ खेतीपाती गरेर ८ जनाको परिवार धान्दै आएका विशेश्वरले बहिनी बबिताको उपचारमा सहयोग गरिदिन सम्बद्ध सबैपक्षसँग अपिल गरेका छन् । -उज्यालो अनलाइनबाट