Saturday, September 26, 2026
Home समाज आयुस भए उत्कृष्ट सांस्कृतिक फोटोग्राफर

आयुस भए उत्कृष्ट सांस्कृतिक फोटोग्राफर

279

वैशाख ३०,
केके मानन्धर
भक्तपुरको मध्यपुर थिमिमा एक समारोहकाबीच आयुस शाक्यलाई उत्कृष्ट सांस्कृतिक फोटोग्राफर घोषणा गरिएको छ । रोटरी क्लब अन्तर्गतको रोट¥याक्ट मध्यपुर शाखाले शाक्यलाई उत्कृष्ट घोषणा गरी प्रोत्साहन स्वरुप फोटोग्राफी सम्बन्धिका विभिन्न सामग्री उपलब्ध गराएको छ । तीन दर्जन मध्ये राजु महर्जनको दोस्रो र कपिल चन्द्र पालको तस्बिर तेस्रो भएको हो । संस्थाले प्रत्येक वर्ष मध्यपुरमा बिस्का जात्राको सन्दर्भमा तस्बिर प्रतियोगिता र प्रदर्शनी गर्दै आएको छ । यस वर्षको तस्बिर प्रतियोगिता र प्रदर्शनी चौंथो हो ।
“विशेषगरी संस्कृति प्रबद्र्धनको उद्देश्यले हामीले केहि वर्ष यतादेखि तस्बिर प्रतियोगिता र प्रदर्शनीलाई निरन्तरता दिएका छौं ।” आयोजक संस्थाका अध्यक्ष चन्द्र चक्रधरले बताए । अहिले मध्यपुरमा सीमित गरी आयोजित कार्यक्रमलाई काठमाडौं, ललितपुर तथा अन्य जिल्लामा गर्ने योजना विषयमा उहाँले जानकारी दिए ।
कार्यक्रममा सहभागी भक्तपुर क्षेत्र २ का प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले फोटोग्राफीमार्फत कला, संस्कृति तथा महत्वपूर्ण दस्तावेज कैद गरी पुस्तान्तरण गर्न सकिनेमा जोड दिए । तस्बिरले धेरै सन्दर्भलाई उजागर गर्ने भएर संस्कृति प्रबद्र्धनमा लाग्ने फोटोग्राफरलाई सहयोग गर्न इच्छुक भएको उहाँको भनाई थियो । प्रदेशस्तरमा बनाउनु पर्ने योजनाको लागि सांस्कृतिक अवस्थाको विषयमा तस्बिरमार्फत सुझाव दिन समेत सांसद श्रेष्ठले अपील गरे ।
संस्थाले तस्बिरमार्फत सांस्कृतिक पक्ष बाहेक कला, संस्कार तथा सम्पदाजन्य सम्पत्तिको अवस्थालाई प्रचार गर्दै आएको छ । सभ्य समाजको आधारजन्य गतिविधि तथा अवस्थालाई ध्यान दिन सके आन्तरिक पर्यटनको विकास गरी स्थानियस्तरमा रोजगारी सिर्जना गर्न सकिन्छ । मध्यपुरको गुङ्गचिवाः टोलमा गरिएको तस्बिर प्रदर्शनीमा फोटोग्राफी सम्बन्धित व्यक्तित्व, पत्रकार, समाजसेवी तथा स्थानियहरुको उलेख्य सहभागिता थियो ।