वीर अस्पतालको ‘मुहार’ फेर्ने धोको

226

बैशाख ३०,
काठमाडौं । गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई कामको धम्मरधुस थियो । सघाउँदै हुनुहुन्थ्यो कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन हुँदैछ कि क्या हो ? ’ अस्पताल पुगेका सर्वसाधारण आपसमा लख काट्दै थिए । अर्काथरिको अनुमान थियो, “होइन, यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन लागेका होलान् ।” शुक्रबारै प्रधानमन्त्री मोदी काठमाडाँँै आउदै हुनुहुन्थ्यो र उहाँको स्वागतका लागि पनि काठमाडौंँमा व्यापक सरसफाइ भइरहेको थियो ।
वीर अस्पतालको चौथो तलाको भित्तामा रङ लगाइरहेका धुर्मुसको देब्रेपट्टि शिशा पुछिरहेका थिए खेम शर्मा । शर्मालाई देखेपछि भने सबैको जिज्ञासा मेटियो, “ए यहाँ त सरसफाइ पो भइरहेको रछ ।” बिरामी भेट्न आएका एक जनाले भने, “त्यही त अस्पतालको ‘लिफ्ट’ आज किन यति सफा देखियो भन्ने त मलाई शुरुमै लागेको थियो ।” अहिले रङरोगन गर्न धुर्मुस तथा अरु मर्मतसम्भार र सरसफाइ गरी अन्य संरचना टल्काउने काममा शर्मा आफैँ लाग्नुभएको छ । बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा काम भइरहेको छ, प्रायः रातिको सिफ्टमा उहाँहरु आफँै खट्नुहुन्छ । उहाँहरुका साथ करीब १०० मजदूर कार्यरत छन् । सरसफाइमा ३० र रङरोगनमा ७० कामदार खटेका छन् ।
स्वास्थ्य मन्त्रालयको अगुवाइमा गत आइतबारदेखि शुरु भएको वीर अस्पताल सरसफाइको नेतृत्व नेपालमा सफाइका क्षेत्रमा कार्यरत खेम्स क्लिनिङका अध्यक्ष एवम् वाग्मती सफाइ अभियानकर्मी खेम शर्मा र नेपाल सरकारद्धारा सरसफाइदूत घोषित कलाकार धुर्मुसले गर्नुभएको छ । अभियानका अन्य सहयोगी मा वाग्मती सफाइका अर्का अभियानकर्ता अर्जुन धरेल र टंक आचार्य हुनुहुन्छ ।

वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेत भन्नुहुन्छ, “ पन्ध्र दिनमा अस्पतालको सफाइ गरी नमूना बनाउने प्रणका साथ उहाँहरुले काम शुरु गर्नुभएको छ, विभिन्न सिफ्ट बनाएर दिनमा १८ घण्टासम्म काम गरिरहनुभएको छ, मलाई लाग्छ यसले वीर अस्पतालको अहिलेको अवस्थामा ठूलो सुधार ल्याउने छ । म यस कार्यबाट अत्यन्तै खुशी छु ।”
भूकम्पपीडितहरुलाई बस्ती बसाल्नेजस्तो अत्यन्त प्रशंसनीय काम गरेका कलाकार धुर्मुस र सुन्तली भन्नुहुन्छ, “वीरजस्तो मुलुकको जेठो र संवेदनशील अस्पताल सफाइ गरेर देशका अन्य सरकारी अस्पताल र अस्पताल मात्र नभएर अन्य क्षेत्रमा पनि नमूना पेश गर्न सकियोस् भनेर यो अभियान थालिएको हो । रातदिन काम गरेका छौँ, सक्दो बल लगाएका छौँ, हेरौँ कतिसम्म सम्भव हुन्छ ।” धुर्मुस सुन्तली फाउण्डेशनले रङरोगनका लागि सामग्री र मजदूरको प्रबन्ध गरेको छ र उहाँहरु आफैँले पनि काम गरिरहनुभएको छ । धुर्मुस ठट्टा गर्नुहुन्छ, “मान्छे खेद्नु अघिबाट, पशु खेद्नु पछिबाट’, भनेजस्तै कामको अगुवाइ आफँैले गर्नुपर्छ, बल्ल भनेजति काम हुन्छ ।”

हाल स्वयंसेवीका रुपमा नेपालका विभिन्न क्षेत्रमा सफाइ जारी राखिएकोे र आगामी दिनमा यस कार्यलाई कम्पनीमार्फत संस्थागत गरी देशव्यापी रुपमा सीप सिकाउने अभियान सञ्चालन गरिने योजना रहेको खेम्स क्लिनिङका प्रबन्ध निर्देशक विश्वास अधिकारी बताउनुहुन्छ । हाल वीर अस्पतालमा कम्पनीका १५ दक्ष कामदारले काम गरिरहेका र वीरकै थप १५ जनालाई सीप सिकाइरहेका छन् । “भोलि तिनै सीप सिकेका कामदारबाट सो अस्पतालका अरु कामदारमा सीप हस्तान्तरण हुनेछ”, अधिकारी भन्नुहुन्छ ।
वाग्मती सफाइ अभियानकर्मी धरेल पनि प्रायः सफाइ मजदूरसँगै हुनुहुन्छ । उहाँ कुन रङ कता सुहाएको छ हेर्नुहुन्छ, कहाँ के पुगेन सुझाउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“ वीर अस्पताल नेपालको अस्पतालकै पर्याय र इतिहास हो, यहाँ अन्यत्र नभएका उपकरण र अनुभवी चिकित्सक छन्, त्यसैले यसलाई सबै नेपालीको भरोसायुक्त अस्पताल बनाउन यो सफाइ अभियानले थप सहयोग गर्नेछ ।”