नयाँ पत्रिका दैनिक- बैशाख २०,
काठमाडौँ ।
-३७,९९,५६५ ग्राम सुन तस्करी
-चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असाररसाउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर
-१७,०१,८०,७१,४३० रुपैयाँ बिगो
-गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध मुद्दा, करिब तीन वर्षसम्म उनीहरूले तस्करी गरेको सम्पूर्ण सुनको मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ बिगो दाबी र सजाय माग
-३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई संगठित अपराधअन्तर्गत सुन चोरी–तस्करी गरेको, मानव अपहरण गरी शरीर बन्धक बनाएको र कर्तव्य ज्यान अपराधमा फरक–फरक मुद्दा दर्ता गराएको हो । गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीको अनुसन्धानका आधारमा जिल्ला प्रहरीले जिल्ला अदालत मोरङमा बुधबार अभियोग दर्ता गराएको हो । ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको अपराध गरेको आरोपमा पक्राउ परेका २९ जनासहित जम्मा ६३ जनाविरुद्ध प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराएकोे मोरङ अदालतका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । मुद्दा चलाइएका फरार अभियुक्तमा मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीदेखि नेपाल प्रहरीका एसएसपी श्याम खत्रीसम्म छन् ।
पत्रकारमाथि एसपी लोहनीको लात्ती
अदालतमा मुद्दा दर्ता गराएर फर्काउँदै गर्दा अभियुक्त एसपी दिवेश लोहनीले फोटो खिचिरहेका पत्रकारमाथि आक्रमण गरेका छन् । पत्रकारलाई अपशब्द बोल्दै अगाडि बढेका उनले लात्ती प्रहार गरेका हुन् । इमेज च्यानल र अनलाइनखबर डट कमका संवाददाता ध्रुव भट्टराईलाई लात्ती हानेका हुन् । अर्का पत्रकार सुमन सुस्केरालाई मुक्का हान्ने प्रयास गरेका थिए । ब्लास्ट दैनिकका अनिल श्रेष्ठलाई अपशब्द बोलेर दुर्व्यवहार गरेका थिए । न्यायालयभित्रै भएको अभद्र व्यवहारको पत्रकार संगठनहरूले भत्र्सना गरेका छन् ।