Friday, September 18, 2026
Home पत्रपत्रिका ३३ केजी सुन प्रकरण नयाँ मोडमा, शव लुकाउन २ करोडको बार्गेनिङ !

३३ केजी सुन प्रकरण नयाँ मोडमा, शव लुकाउन २ करोडको बार्गेनिङ !

219

नेपाल समाचारपत्र दैनिक- बैशाख १८,
काठमाडौ । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ३ दिनको म्याद थप गरिएको हो।

स्रोतका अनुसार केसीले सनमको शव बेपत्ता पारिदिने भन्दै २ करोडमा बार्गेनिङ गरेका थिए। अनुसन्धानका लागि केसीलाई शुक्रबार जिप्रका मोरङ ल्याइएको थियो। डीएसपी केसीकै नेतृत्वमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शाक्यको शव मोरङमा बरामद गरेको थियो। सोही अनुसन्धानमा चलखेल भएपछि गृहले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
मोरङ प्रहरीको हिरासतमा २८ जना रहेका छन्, जसमा ६ जना प्रहरी अधिकारी छन्। पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, आइतबार म्याद थप भएका केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का हिरासतमा छन्।
६ जना नै निलम्बित भइसकेका छन्। प्रहरीले अनुसन्धानका लागि एसएसपी श्याम खत्रीका चालक विष्णु खड्कालाई पक्राउ गरेको छ। एसएसपी खत्री भने अझै फरार छन्। सुन तस्करीको गिरोहलाई उनका चालकले समेत सहयोग गरेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो।
एसएसपी खत्री भने छानबिन समितिको सम्पर्कमै आएका छैनन्। नेपाल प्रहरीको प्रधान कार्यालयमा कार्यरत उनी दुई सातादेखि कार्यालयसमेत गएका छैनन्। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ।