बैशाख १४,
तेह्रथुम । घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ ।यो क्षेत्रमा २८ प्रजातिका गुराँस फुलिरहेका छन् । फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को बर्षसमेत असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सूचना नै प्रकाशित गरी प्रतिवन्ध लगाएको हो ।
सूचनालाई बेवास्ता गरी कसैले गुराँस टिप्ने र हाँगा भाँच्ने काम गरे जंगलमै कारबाही गरिने वन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।गुराँसको सौन्दर्यमा रमाउन र घना गुराँसे जंगलमा घुम्न आउने पर्यटकले फूल टिपेर लैजाने गरेका छन् ।
गुराँस टिपेको र हाँगा भाँचेको भेटिएमा उनीहरुलाई वन ऐन तथा नियमावलीअनुसार कारबाही गरिने वन कार्यालयले बताएको छ ।