Wednesday, October 7, 2026
Home पत्रपत्रिका कांग्रेस बैठकमा ६ घन्टा बोले गोपालमान र गच्छदार

कांग्रेस बैठकमा ६ घन्टा बोले गोपालमान र गच्छदार

101

नयाँ पत्रिका दैनिक- वैशाख १४,

काठमाडौं । बिहान पौने ११ बजे सुरु भएको बिहीबारको बैठकमा सुरुमै बोल्ने पालो पाए पुराना नेता गोपालमान श्रेष्ठले । उनले सवा घन्टा बोलेपछि नेताहरूले ‘भोक लाग्यो’ भन्न थाले । सदस्यहरूको मागअनुसार खाना खान बैठक स्थगित गरियो ।
अपराह्न ३ बजेपछि सुरु भएको बैठकमा फेरि श्रेष्ठ नै बोल्न थाले । उनले पौने घन्टा थप बोले । त्यसपछि पालो आयो विजयकुमार गच्छदारको । फोरम लोकतान्त्रिकबाट केही महिनाअघि कांग्रेस भित्रिएका नेता भएकाले उनले विशेष आमन्त्रित सदस्यका रूपमा धारणा राखे ।
‘घाँँटीको समस्या छ, डाक्टरले धेरै नबोल्नु, ‘भ्वाइस रेस्ट’ गर्नु भनेका छन् । म छोटो बोल्छु,’ गच्छदारले भाषण सुरु गरे । तर, उनको भाषणको गति रामायण वाचन गर्न लागेजस्तो शैलीमा अगाडि बढ्यो । ३ घन्टा ५ मिनेट बोल्दा पनि उनको धीत मरेन । बिहीबारको भाषण त यत्तिकैमा अन्त्य गरे, तर शुक्रबार पुनः एक घन्टा बोल्ने गरी । शुक्रबारको बैठकमा गच्छदारले एक घन्टा जति बोल्न सक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
‘गोपालमान दाइले तीन घन्टा र विजय दाइले तीन घन्टा पाँच मिनेट बोल्दा बिहीबार जम्मा दुई वक्ताले मात्र बोल्नुभयो,’ शर्माले नयाँ पत्रिकासित भने, ‘अब शुक्रबार विजय दाइले एक घन्टा जति बोल्नुभयो भने पदाधिकारीले बोलेर बैठक टुंग्याउने तयारी छ ।’ बैठक सकिएपछि निर्णय सार्वजनिक गर्ने बताए।

त्यसो त लामो भाषण गर्नेहरू गच्छदार र श्रेष्ठ मात्रै होइनन् । यसअघिका बैठकमा विमलेन्द्र निधि र डा। प्रकाशशरण महतले दुई–दुई घन्टा तथा मीन विश्वकर्मा र किशोरसिंह राठोरले डेढ–डेढ घन्टा बोलेका थिए । तर, लामो भाषण सुन्नुपर्दा अधिकांश सदस्यले भने पट्यार मानेका थिए । लामो भाषण पट्यारलाग्दो भएको गुरुराज घिमिरेले सुनाए ।