बिहान विमानस्थल, दिउँसो खेलमैदान

101

अन्नपूर्ण पोष्ट-चैत २९,
डोल्पा । डोल्पाको जुफाल विमानस्थललाई रंगशाला बनाइएको छ। पहिलो पटक रंगशालाका रूपमा विमानस्थलको धावनमार्ग प्रयोग गरिएको हो। जुफालमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलमैदान नभएपछि धावनमार्गमा खेल खेलाइएको छ। चैत २५ गतेदेखि ठूलीभेरी नगरपालिकाको आदर्श माध्यमिक विद्यालयमा प्रतियोगिता भइरहेको छ। जिल्ला खेलकुद विकास समिति र विद्यालयकोे अनुरोधमा धावनमार्गमा खेल खेलाउन दिइएको हो। आयोजक विद्यालय आदर्श माविमा धावकलाई मैदान नपुगेपछि १ सय, २ सय र ४ सय मिटरका साथै रिले दौडका लागि धावनमार्ग प्रयोग गरिएको हो। ३ सय मिटर ८ सय मिटर र १ हजार ५ पाँच सय मिटरको दौड प्रतियोगिता भने विद्यालयकै खेलमैदानमा सञ्चालन गरिएको छ। धावकलाई मैदान नपुगेपछि १ सय, २ सय र ४ सय मिटरसहित रिले दौडका लागि धावनमार्ग प्रयोग गरिएको हो। कानुनतः विमानस्थलमा कुनै पनि कार्यक्रम गर्न नमिल्ने नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका निमित्त प्रमुख भरत जोशीले बताए। तर, हिमाली, दुर्गम र खेलकुद मैदान अभावमा हवाई उडान नभएको समयमा दिउँसो १२ बजेपछि मात्र धावनमार्गमा क्षति नपु¥याउने सर्तमा दौड सञ्चालन गर्न दिइएको उनको भनाइ छ। बिहान मात्र उडान हुने यो विमानस्थलमा अहिले तारा र गोमा एयरले मात्र उडान भर्दै आएका छन्।विमानस्थल सुरक्षा गर्ने जिम्मेवारी आफूहरूको रहेको र नागरिक उड्डयन प्राधिकरण कार्यालयको निर्देशनमा शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न दिइएको जुफाल विमानस्थलका सुरक्षा इन्चार्ज प्रहरी निरीक्षक कृष्णप्रसाद पौडेलले बताए।