-गोपीकृष्ण ढुंगाना ‘पथिक’
लेख्नु’थ्यो लेख्यौ, सबको मन हरेर लेख्यौ,
दाम आउँछ जान्छ, नामका लागि मरेर लेख्यौ ।
धन्य छ तिम्रो मन, मुटु अनि धमनी,
साहूलाई कूत, बुझाउन पाथी भरेर लेख्यौ ।
थाहा छैन कति, सुखी कति दुःखी छौ तिमी,
स्वतन्त्र भएर लेख्यौ, या दबाबमा परेर लेख्यौ ।
अरे मार्मिक तिमी, आखिर मान्छे नै त हौ,
धर्तीमा बस्यौ र, चाँदनीलाई प्रेम गरेर लेख्यौ ।
नामै छ मार्मिक, तखल्लुस मात्र हो रोशन,
स्वर्ग वारी थियो, अचानक पारी तरेर लेख्यौ ।
हुन्न भर आयुको, अघिपछिको कुरो न हो,
सधैं बाँच्ने सोचमा, चौतर्फी नाम छरेर लेख्यौ ।
काव्यकुन्ज, भक्तपुर ।
स्रोत (काव्यकुञ्ज डट कम)/sahityasangraha.com