शिक्षकले नै विद्यार्थीलाई गाँजा र भाङ खुवाएपछि।।

1098

चैत १५,
सिन्धुपाल्चोक । कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्जन गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्कुल भर्ना गरे । र, शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घन्टा बेहोस भएपछि अभिभावक छाँगाबाट खसेझैँ भएका छन् । शिक्षकले जानाजानी दिएको गाँजाले कक्षा पाँचमा पढ्ने तीन बालक बेहोस भएका हुन् । बलेफी गाउँपालिका–१ जलवीरेमा रहेको ब्रह्मायणी इंग्लिस बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षका कुन्दन थापा, दीपेश थापा र १३ वर्षका सन्देश सुनारलाई शिक्षकले तरकारीमा गाँजा र भाङ मिसाएर खुवाएका थिए । लामो समय बेहोस भएका कुन्दन थापालाई धुलिखेल अस्पताल लगेर उपचार गरिएको छ । दुई विद्यार्थीको उपचार जलवीरेमै भएको थियो ।