संसदीय दलको नेतामा शेरबहादुर, शशांक र प्रकाशमानको दाबी

179

फागुन १०,
काठमाडौं । प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र संसदीय दलको नेता खोजी सुरु भएको छ ।
शनिबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको संयुक्त बैठकले दलको विधान संशोधन गर्नेछ । भोलिपल्ट बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेसँगै संसदीय दलको नेता छान्न निर्वाचन कमिटी गठन गर्ने सम्भावना छ ।
दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक दावेदार नै भए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका छन् । महामन्त्री शशांक कोइरालाले चुनाव नलड्ने तर, सर्वसम्मत भए दलको नेता बन्ने बताएका छन् । गणितका हिसावले देउवाको पक्षमा प्रष्ट बहुमत छ । त्यसैले उनी नै दलको नेता बन्ने आंकलन गरिएको छ । तर, देउवा समूहबाटै सर्वसम्मत रुपमा दलको नेतामा विकल्प खोज्ने प्रयास सुरु भएको छ । यो समूहको लबिङ छ, कि देउवाको प्रस्तावमा शशांक दलेका नेता बन्ने ।

तीन धार

कांग्रेसमा एउटा समूह छ, जो शेरबहादुर देउवाले कुनै हालतमा दलको नेता छाड्न हुन्न भन्ने पक्षमा छ । दलको नेता नहुने हो भने देउवाको राजनीतिक रुपमा अवसान सुरु हुने तर्क यो समूहको छ । स्वाभाविकै हो, देउवाले दलको नेता छाड्दा उनले छाडेको मात्र हुँदैन, अरु कोही उदाउँछ । त्यो व्यक्ति देउवा समूहभन्दा बाहिरबाटै हुन्छ र त्यसमा पनि महामन्त्री शशांक कोइरालाको सम्भावना अधीक छ । यसले कोइरालालाई आगामी प्रधानमन्त्री र पार्टी सभापति स्वाभाविक उम्मेदवार बन्ने मार्ग प्रशस्त गरिदिने छ । जसरी, गिरिजाप्रसाद कोइराला जिवित छँदै शेरबहादुर देउवा अगाडि आएका थिए । साथै देउवाले दलको नेता कुनै हालतमा अरुलाई छाड्न हुन्न भन्ने समूहको आफ्नो स्वार्थ पनि छ । उनीहरुले कांग्रेस वा देउवाका लागि मात्र यसो भनेका होइनन्, देउवा दलको नेता बन्दा प्राप्त हुने लाभका लागि पनि यसो भनिरहेका छन् । कांग्रेसमा अर्को समूह छ, जसले देउवाले सर्वसम्मत रुपमा कसैलाई पनि दलको नेता छाड्नुहुन्न । देउवाले जिते पनि जितुन् तर, चुनाव लड्नुपर्छ भन्ने लबिङ गरिरहेको छ । यसो हुँदा सम्भवतः देउवासँग पूर्वमहामन्त्री प्रकाशमान सिंह चुनाव लड्नेछन् । जुन समूहका नेताहरु देउवाले दलको नेता छाड्नुपर्छ र सर्वसम्मतरुपमा दलको नेता चुन्नुपर्छ भन्ने मत राख्छन् । उनीहरुले शशांक कोइरालालाई दलको नेता बनाउन लबिङ गरिरहेका छन् । यो त्यही समूह हो, जसले १३ औं महाधिवेशनताका देउवा-शशांकको एउटै टिम बनाउन भरपूर प्रयास गरेको थियो । –अनलाइन खबरबाट