स्थानीय पाठ्यक्रममा इलाम र इलामको पर्यटन समावेश

381

फागुन १,
इलाम । जिल्ला शिक्षा कार्यालयले अनौपचारिक शिक्षा केन्द्रको तह दुईअन्तर्गतकोे स्थानीय पाठ्यक्रममा इलामको वस्तुस्थिति र त्यहाँको पर्यटन क्षेत्र समावेश गरेको छ ।
चालू आर्थिक वर्षमा शुरु गरिएको उक्त पाठ्यक्रमअनुसार अनौपचारिक शिक्षाअन्तर्गत तह एक पूरा गरी साक्षर बनिसकेका १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई इलाम र इलामको पर्यटनका बारेमा पनि जानकारी दिने उद्देश्यले सो पाठ्यक्रम तयार पारिएको हो ।
दुई वर्षअघि साक्षर जिल्ला घोषित इलाममा निरन्तर शिक्षाअन्तर्गत तह दुईको सिकाइ शुरू गरिएको हो । उक्त पाठ्यक्रममा अन्य विषयवस्तुका साथै अनौपचारिक शिक्षा केन्द्रले देशभर तय गरेअनुसारको भए पनि स्थानीय पाठ्यक्रममा जिल्लाको पर्यटन राखिएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताउनुभयो ।
जिशिअ गौतमका अनुसार साक्षर जिल्ला घोषित हुँदा ४० हजार निरक्षरलाई साक्षर बनाइएकामा उनीहरूलाई नै निरन्तर शिक्षाअन्तर्गत तह दुईको पाठ्यक्रमअनुसार सिकाइनेछ । निरन्तर शिक्षाको एक चरणको कार्यक्रम सकिएको र अहिले दोस्रो चरणको कार्यक्रमअनुसार हालै सहजकर्तालाई तालीम दिइएको छ ।
त्यो सँगसँगै स्थानीयस्तरमा सम्भावना रहेको क्षेत्रको ज्ञान पनि सबै व्यक्तिले पाउनुपर्छ भन्ने उद्देश्यले इलामको हकमा यहाँको पर्यटनको विषय पाठ्यक्रममा राखिएको पनि उहाँले बताउनुभयो । सो पाठ्यक्रममा इलामको चिनारी, पर्यटन, प्रमुख पर्यटकीय गन्तव्यहरू, धार्मिक पर्यटकीयस्थल, सूर्योदय पर्यटन स्थल र पर्यावरणीय पर्यटनस्तलका आधारभूत जानकारी समावेश गरिएका छन् । यसबाट इलाम र यहाँको पर्यटन बुभ्mन सबैले पाउने र आगामी दिनमा पर्यटन क्षेत्रमा चासो राख्नेलाई यसले सहयोग गर्ने आशा गरिएको छ ।
योबाहेक सोही तहको मूल पाठ्यक्रममा विवाह, सुरक्षित मातृत्व र शिशु स्याहार, सामाजिक कुरीति र विकृति, आयआर्जन, बहिनीलाई चिठी, पोषिलो खाना, रोगजस्ता विषय छन् । त्यस्तै हाम्रा मौलिक हक, कम्प्यूटर र इन्टरनेट, प्राथमिक उपचार, सहकारी, हाम्रा आँखा खुले, परिवारका इच्छा, मुद्राको चिनारी र योग तथा शारीरिक व्यायामजस्ता विषय तह दुईमा सिकाइ हुने गरी पाठ्यक्रममा राखिएका छन् ।
विद्यालय, सामुदायिक भवन वा व्यक्तिको घरमा समेत सञ्चालन गर्न सकिने यस्ता कक्षा चार महिनासम्म सञ्चालन हुनेछन् । पाठ्यक्रमलाई समेटेर जिशिका इलामले ‘निरन्तर शिक्षा’ नामक पुस्तकसमेत प्रकाशन गरिसकेको छ ।
रासस