माघ २९,
काठमाडौं । संघीय संसदको दोस्रो ठूलो दल बन्न लागेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएका ४० सिटमध्ये आधाभन्दा बढी अर्थात २२ जना यसअघि पटकपटक सांसद र समानुपातिकबाट सभासद भइसकेकाहरुलाई दोहोर्याएको छ ।
पार्टी केन्द्रीय कार्यसमितिले तय गरेको मापदण्ड विपरीत अधिकांश पुरानै अनुहार दोहोर्याएको भन्दै असन्तुष्टिसमेत पोखिन थालेको छ । कांग्रेसले पटक पटक सांसद र मन्त्री भइसकेका र आरक्षणका नाममा पटक पटक अवसर पाइरहेका अनुहारलाई समानुपातिक सांसद बनाएको छ । मधेशी कोटामा अर्बपति बिनोद चौधरी सांसद बन्दा थारु कोटाबाट २०४८ सालदेखि लगातार चुनाव लड्दै र जित्दै हार्दै आएका पद्मनारायण चौधरीलाई मौका दिएको छ । त्यस्तै मधेशी महिलाको कोटामा कोषाध्यक्ष सीतादेवी यादव र पूर्वकोषाध्यक्ष चित्रलेखा यादव परेका छन् । सीतादेवीका छोरा शुभाष यादव सिरहामा मेयर र प्रदेशसभा दुवै चुनावमा टिकट पाएर पराजित भएका थिए । त्यस्तै पद्मनारायण चौधरीले पनि आफू समानुपातिकमा बसेर छोरालाई प्रदेशसभामा टिकट दिलाएका थिए ।जनजाति कोटामा अर्बपति शिक्षा उद्यमी उमेश श्रेष्ठ, व्यापारी दिब्यमणि राजभण्डारी, ठेकेदार जीपछिरिङ लामा, कर्मा घले, सूर्यबहादुर केसी र बहादुरसिंह लामा परेका छन् । त्यस्तै दलित कोटामा मन्त्री मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा परेका छन्, जसले समानुपातिकमा पटक पटक अवसर पाइसकेका छन् । समानुपातिकमा दुई पटक अवसर पाउनेमा लक्ष्मी परियार र सुजाता परियार पनि परेका छन् । खसआर्य पुरुषमा पटक पटक सांसद र मन्त्री बनेका बालकृष्ण खाँण, दिलेन्द्र बडु, मोहन पाण्डे परेका छन् भने महिलामा सुजाता कोइराला, मीना पाण्डे, उमा रेग्मी, पुष्पा भुसालले नै अवसर लिएका छन् । बिमलेन्द्र निधिले आफ्नी जेठीसासू दीपशिखा शर्मालाई सांसद बनाएका छन् । मुस्लिम कोटाका अतहर कमाल मुसलमान, मधेशी कोटाका स्मृतिनारायण चौधरी, थारु महिला कोटाका पार्वती डिसी चौधरी पनि यसअघि सांसद भइसकेका व्यक्ति हुन् । कांग्रेसबाट समानुपातिकमा परेका सूर्यबहादुर केसी चुनावअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेका थिए भने विनोद चौधरी पनि चुनावअघि एमालेबाट कांग्रेस प्रवेश गरेका थिए । चौधरी २०६४ मा एमालेबाट समानुपातिक सभासद बनेका थिए । साभारः अनलाइन खबरबाट