प्याब्सन भक्तपुरको साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

280

माघ २९,
भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल भक्तपुर जिल्ला समितिको साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्याब्सनमा आवद्ध विद्यालयमा लगातार २० वर्षसम्म काम गरेका शिक्षक तथा कर्मचारीलाई प्याब्सन दीर्घ सेवा सम्मान पत्रले सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा नौलोज्योतिका रमेश चापागाइँ, लक्ष्मीशोभा श्रेष्ठ, विनायक शिक्षाका शिवहरि प्रजापति, चित्रलक्ष्मी श्रेष्ठ, जनचेतना आवासीय माविका शान्ता बडाल, सूर्योदय सेकेण्डरी स्कुलका ललिता प्रधानाङ्ग मास्के र अर्विट स्कुलका कर्मचारी यमकुमारी कोइराला रहेका छन् । त्यस्तै प्याब्सन गौरब सम्मान २०७४ बाट प्याब्सनिष्ट कुमारी लक्ष्मी थापालाई सम्मान गरिएको छ ।
उक्त सभालाई सम्बोधन गर्दै प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डीके ढुंगाना, वरिष्ठ उपाध्यक्ष दीपिका थापा रिमाल, सूर्यविनायक नपाका उपमेयर जुना बस्नेत, मध्यपुर थिमी नपाका मेयर मदनसुन्दर श्रेष्ठ, चाँगुनारायण नपाका मेयर सोम मिश्र र जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाललगायतले जनप्रतिनीधिलाई निजी विद्यालयले शिक्षामा पुर्याएको योगदानको कदर गर्ने गरी र लगानी सुरक्षित हुने गरी नीति बनाउन माग गरेका छन् । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, केन्द्रीय सचिव राजकुमार महर्जन, अभिभावक संघ नेपालका रामकृष्ण प्रजापति तथा भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीले शिक्षामा निजी लगानी र त्यसले पुगेको योगदानलाई स्थानीय सरकारले संस्थागत गर्नुपर्नेमा जोड दिए ।